परिचय
सुदूरपश्मिको अर्थ व्यवस्थाका आयामहरु सुदूरपश्चिम प्रदेशको आर्थिक आयामलाई विभिन्न पक्षबाट हेर्न सकिन्छ । यो प्रदेश प्राकृतिक स्रोत,कृषि र पर्यटनका दृष्टिले निकै धनी भएपनि आर्थिक विकासका हिसावले अझै पछाडि देखिन्छ । धार्मिक पर्यटनका हिसावले भारतका मानिसहरुको सानो दुरीको पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । यहाँ सुदूरपश्चिम प्रदेशको आर्थिक आयामका मुख्यपक्षहरु प्रस्तुत गरिएको छ ।
आर्थिक सूचकहरु :
हालैका तथ्याङकहरु आर्थिक वर्ष २०८१।८२ का अनुसार सुदूरपश्चिमको आर्थिक अवस्थाका सूचकहरु यस्तो देखिएको छ ।
कूल गार्हस्थ्य उत्पादनमा हिस्सा : नेपालको कूल जीडीपीमा यस प्रदेशको योगदान करिब ७.०३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१।८२ मा राष्ट्रिय प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ४ सय ९६ अमेरिकी डलर रहने अनुमान छ । साथै सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २.७६ प्रतिशतले वृद्धि भई १ हजार १ सय ५३ अमेरिकी डलर रहने अनुमान रहेको छ । परम्परागत कृषिमा निर्भरता, कमजोर औद्योगीक वातावरण र युवा जनशक्तीको आन्तरिक र बाह्य पलायन जस्ता कारणले प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय वृद्धि हुन नसकेको देखिन्छ । ( राष्ट्रिय तथ्याङ्क कार्यालय, २०८२)
आर्थिक वृद्धिदर : यस अर्थिक वर्षको वृद्धिदर उपभोक्ता मूल्यमा करिव ३.३२ प्रतिशत रहने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१।८२ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र, द्धितीय क्षेत्र तथा तृतीय क्षेत्रको योगदान क्रमशः ३४.९५, १२.३० र ५२.७५ प्रतिशत रहेको छ भने यस अवधिमा यी क्षेत्रहरुको वृद्धिदर क्रमशः २.७८, २.०४ र २.८९ प्रतिशत रहने अनुमान छ । त्यसैगरी आर्थिक वर्ष २०८०।८१ मा द्धितीय क्षेत्र १.२४ प्रतिशतले ऋणात्मक रहेको थियो । सुदूरपश्चिम प्रदेशको मूल्य सुचकाङ्क राष्ट्रिय औषतभन्दा केही बढी रहेको छ ।
गत आर्थिक वर्षको फागुन महिनाको वार्षिक विन्दुगत तुलनामा सुदूरपश्चिम प्रदेशको उपभोक्ता मुल्य सुचकाङ्क ४.४१ प्रतिशतले वृद्धि भई १०४.२ पुग्न गएको छ । यस अवधिमा प्रदेशको ग्रामीण क्षेत्रको सुचकाङ्क १०५.० र सहरी क्षेत्रको सुचकाङ्क १०३.९ पुग्न गएको छ । राष्ट्रिय सुचकाङ्कभन्दा सुदूरपश्चिम प्रदेशको सुचकाङ्क १ अङ्कले बढी रहेको छ । आर्थिक वर्ष २०७९।८० फागुनको वार्षिक विन्दुगत तुलनामा आर्थिक वर्ष २०८०।८१ मा तलब तथा ज्याला सुचकाङ्क ९.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ । ( सुदूरपश्चिम प्रदेश, आर्थिक सर्वेक्षण, २०८१।८२)
प्रतिव्यक्ति आय : सुदूरपश्चिमको प्रतिव्यक्ति आय करिव ११५३ अमेरिकी डलर रहेको छ, जुन राष्ट्रिय औसत १४९६ अमेरिकी डलरभन्दा केही कम हो ।
प्रमुख आर्थिक क्षेत्रहरु
यस प्रदेशका अर्थतन्त्रका मुख्य मेरुदण्डहरु निम्नअनुसार छन :
कृषि : प्रदेशको जीडीपीमा कृषिको योगदान सवैभन्दा बढी करिव ३४.७२ प्रतिशत छ । कैलाली र कञ्चनपुर जिल्लालाई नेपालको अन्न भण्डार मानिन्छ । यहाँ धान,गहुँ, मकै र तेलहनको उत्पादन बढी हुन्छ ।
जलस्रोत र ऊर्जा : पश्चिम सेती, पञ्चेश्वर ( महाकाली) जस्ता ठूला जलविद्युत आयोजनाहरु यसै प्रदेशमा पर्दछन । यी आयोजनाहरु सफल भएमा यसले नेपालकै अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ ।
पर्यटन : खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा, अपिनाम्पा संरक्षण क्षेत्र र बडिमालिका जस्ता धार्मिक तथा प्राकृतिक स्थलहरु पर्यटनका मुख्य स्रोत हुन् । यस प्रदेशको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रियाले व्यापारिक सम्भावना बढाएको छ ।
सुदूरपश्चिमको अर्थ व्यवस्थाका समस्या र चुनौतीहरु
सुदूरपश्चिमको अर्थतन्त्रमा केही गम्भीर चुनौतीहरु पनि छन, जसलाई सुधार गर्न सकेको खण्डमा यस क्षेत्रको विकासमा टेवा पुग्ने देखिन्छ ।
गरिबी र बसाइसराइ : नेपालको तथ्याङ्क हेर्ने हो भने यस प्रदेशमा उच्च स्तरको गरिबी रहेको देखिन्छ । सुदूरपश्चिमको ग्रामीण गरिबी जस्तै ः गा.पा. को ४०.२१ प्रतिशत, सहरी क्षेत्रको अर्थात न.पा. मा बसोबास गर्ने नागरिकको अवस्था हेर्ने हो भने ३०.८६ प्रतिशत गरिबी रहेको पाइन्छ ।
त्यसैगरी, समग्र सुदूरपश्चिमको गरिबी भने ३४.१६ प्रतिशत रहेकोछ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट तराईँतर्फ र भारतको कालापहाडमा रोजगारीका लागि र सहज जीवनयापनका कारण बसाइसराइ तीब्र दरले बढेको देखिन्छ ।
विकासका पूर्वाधारको कमी : सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाहरुमा अहिलेसम्म पनि सडक, सञ्चार, विद्युत र खानेपानीको पहुँच कमजोर देखिन्छ ।
लगानीको अभाव : यस क्षेत्रमा निजी लगानी तुलनात्मक रुपमा कम देखिन्छ ।
स्थानीय तहको वित्तीय हस्तान्तरण र राजस्वको बाँडफाँट
गत आर्थिक वर्षको चैत्र मसान्त सम्म प्रदेश सरकारले स्थानीयतहलाई समानीकरण,सर्शत, विशेष र समपुरक अनुदान गरी कुल रु. ९४ करोड १६ लाख हस्तान्तरण गरेको छ ।
निष्कर्ष : हालैका घटनाक्रमहरु मार्च २०२६ अनुसार, लिपुलेक नाकामार्फत भारत र चिनबीचको व्यापार पुनः सञ्चालन गर्ने तयारीले गर्दा सुदूरपश्चिममा नयाँ आर्थिक तरङ्ग ल्याएको छ । तरपनि यस क्षेत्रमा हुने भारतीय इन्धन अभाव र वैदेशिक द्वन्द्वका कारण केही नेपाली श्रमिकहरु घर फर्कने क्रम बढेकाले स्थानीय बजारमा चाप परेको देखिन्छ । खुला सीमाना सुदूरपश्चिमका लागि वरदान र अभिशाप दुवै सावित भएको छ । यदि सरकारले सीमानालाई थप व्यवस्थित गरी अवैध व्यापार रोक्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिन सकेमा यसले प्रदेशको कायापलट गर्न सक्छ ।
(लेखक गगनराज घिमिरे कैलाली वहुमुखी क्याम्पसका अर्थशास्त्र बिषयका विद्यार्थी हुन् ।)















