धनगढी । सुदूरपश्चिमकै प्रतिष्ठित शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसले सुदूरपश्चिम नवउद्यमी सम्मेलन गर्ने भएको छ । क्याम्पसअन्तर्गतको इन्क्युबेसन सेन्टरको आयोजना, राष्ट्रिय योजना आयोग तथा सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र यहाँका विभिन्न स्थानीय तह, बैंक, वित्तीय संस्थालगायतको साझेदारीमा आगामी १३ देखि १५ कार्तिकसम्म सम्मेलन गर्न लागिएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको कैलाली बहुमुखी क्याम्पसले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरेर यही क्षेत्रमा केही गर्ने साँेच भएका युवालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको जानकारी दिएको छ । इन्क्युबेसन सेन्टरका संयोजक सहप्राध्यापक डा. राजेन्द्रबीर चन्दले युवाहरुलाई उद्यमशीलतामा जोड्न सम्मेलन गर्न लागिएको बताए ।
व्यवसायलगायत विभिन्न विधामा लुकेर रहेका प्रतिभालाई प्रस्फुटल गर्न सम्मेलन सहयोगी हुने उनले बताए । स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न चाहने युवालाई ‘मेन्टर सीप’ र उद्यम सुरु गर्न आर्थिक सहयोग पनि गरिने सहप्राध्यापक चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए ।
क्याम्पसका अनुसार ७० जनालाई विज्ञहरुबाट प्रशिक्षण दिइनुका साथै व्यवसाय, उद्यम सुरु गर्न विनाब्याजमा दुईदेखि चार लाख रुपैयासम्म सहयोग गरिने छ । इन्क्युबेसन सेन्टरका सदस्यसमेत रहेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले स्नातक गरेका र नवउद्यममा जान चाहने, विदेशमा सीप सिकेर फर्केका र यहीँ केही गर्ने चाहना भएकालाई सम्मेलन उपयुक्त मञ्च भएको बताए ।
विश्वविद्यायल तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी, युवा उद्यमी तथा प्रारम्भीक चरणका व्यवसायी, नयाँ व्यवसाय र उद्यम गर्न चाहने युवा, वैदेशिक रोजगारीबाट फर्किएका युवा सम्मेलनमा सहभागी हुनसक्ने क्याम्पसले जनाएको छ । त्यस्तै स्थानीय आवश्यकता, बजार बुझेका, नविन र संभावनायुक्त व्यवसायिक विचार भएका तथा आफ्नो सीप, स्थानीय स्रोत र प्रविधिलाई व्यवसायमा रुपान्तरण गर्न चाहनेलाई सहभागी गराइने सहप्राध्यापक चन्दले जानकारी दिए ।
आवेदनको प्रारम्भीक मूल्यांकन, छलफल, उद्यमशील अभिप्रेरणा, सुदूरपश्चिमको स्थानीय आवश्यकता तथा अवसरसँगको सान्दर्भिकता, कार्यान्वयन क्षमता, सीप, अनुभव, बजारको संभावना, तत्परतासमेतका आधारमा सहभागी छनोट गरिने बताइएको छ ।
कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. लोकबहादुर बिष्टले सम्मेलनमा सहभागिताका लागि छनोट भएका युवालाई तालिम दिइनुका साथै रोजगारीमा संलग्न हुन क्याम्पसले निश्चित रकम सहयोग गर्ने जानकारी दिए । बैंकबाट ऋण लिन समन्वयका साथै स्थानीय तहहरुसँग पनि समन्वय गराइ दिने उनले बताए । सम्मेलनमा सहभागिताका लागि स्विकृत गरिने ७० वटा प्रस्तावमध्ये ३५ जना विद्यार्थी र ३५ व्यवसायीबाट रहने क्याम्पस प्रमुख बिष्टले जानकारी दिए ।
सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. तारादत्त भट्टले सुदूरपश्चिम नवउद्यमी सम्मेलन गर्न विश्वविद्यालयले आवश्यक सहयोग र समन्वय गर्ने बताए ।
नवउद्यमी सम्मेलन गर्दै कैलाली बहुमुखी क्याम्पस
नवउद्यमी सम्मेलन गर्दै कैलाली बहुमुखी क्याम्पस
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















