धनगढी । स्वास्थ्य कार्यालय कैलालीले सञ्चालन गरेको जापानिज इन्सेफ्लाइटिस (जेई) खोप अभियानअन्तर्गत दुई दिनमा ९ हजार ८६१ जनाले खोप लगाएका छन्।
स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन सूर्यबहादुर बिष्टका अनुसार घोडाघोडी र लम्कीचुहा नगरपालिकामा महिला पुरुष गरी कुल लक्षित संख्या ७३ हजार २२१ जना रहेकोमा दुई दिनमा ९ हजार ८६१ जनाले खोप लगाएका हुन्।
घोडाघोडी नगरपालिकामा ३३ हजार ४८६ जना लक्षित रहेकामा ५ हजार ४१० जनाले खोप लगाएका छन्। त्यस्तै, लम्कीचुहा नगरपालिकामा ३९ हजार ७३५ जना लक्षित रहेकामा ४ हजार ४५१ जनाले खोप लगाएका छन्।
प्रतिवेदनअनुसार घोडाघोडी नगरपालिकामा दुई दिनमा कुल लक्ष्यको ८१.४९ प्रतिशत र लम्कीचुहा नगरपालिकामा २२.९२ प्रतिशतले खोप लगाएका छन्।

घोडाघोडी र लम्कीचुहा नगरपालिकामा बिहीबारदेखि जेई खोप अभियान सञ्चालन भइरहेको छ। अभियानअन्तर्गत ३० वर्ष उमेर पुगेका तथा सोभन्दा माथिका नागरिकलाई लम्कीचुहा नगरपालिकामा असोज ७ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
स्वास्थ्य कार्यालयले अभियानलाई प्रभावकारी बनाउन लक्षित उमेर समूहका नागरिकलाई आफूलाई पायक पर्ने तोकिएको खोप केन्द्रमा गई अनिवार्य रूपमा जेई खोप लगाउन आग्रह गरेको छ।















