धनगढी । कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान जारी रहेको छ। स्वास्थ्य कार्यालय कैलालीले सार्वजनिक गरेको दैनिक प्रगति विवरणअनुसार घोडाघोडी र लम्कीचुहा नगरपालिकामा हालसम्म ३० हजार ३७२ जनाले जेईविरुद्धको खोप लगाएका छन्। तिन दिनको अबधिमा १८ हजार ८५८ जना महिला र ११ हजार ५१४ जना पुरुषले सो खोप लगाएको स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन सुर्यबहादुर बिष्टले निशाना न्युजलाई जानकारी दिए ।
अभियानमा कुल ७३ हजार २२१ जना लक्षित रहेका छन्। विवरणअनुसार घोडाघोडी नगरपालिकामा १५ हजार ३५९ र लम्कीचुहा नगरपालिकामा १५ हजार १३ जनाले खोप लगाइसकेको उनले बताए ।

समग्रमा घोडाघोडी नगरपालिकाको खोप कभरेज ४५.८६ प्रतिशत र लम्कीचुहा नगरपालिकाको ३७.७८ प्रतिशत पुगेको खोप प्रगति विवरण तथ्यांकमा उल्लेख छ।
कैलालीमा जेई संक्रमण बढेपछि लक्षित समूहलाई खोप लगाउने अभियान सञ्चालन गरिएको हो।घोडाघोडी र लम्कीचुहा नगरपालिकामा बिहीबारदेखि जेई खोप अभियान सञ्चालन भइरहेको छ। अभियानअन्तर्गत ३० वर्ष उमेर पुगेका तथा सोभन्दा माथिका नागरिकलाई लम्कीचुहा नगरपालिकामा असोज ७ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
स्वास्थ्य कार्यालयले अभियानलाई प्रभावकारी बनाउन लक्षित उमेर समूहका नागरिकलाई आफूलाई पायक पर्ने तोकिएको खोप केन्द्रमा गई अनिवार्य रूपमा जेई खोप लगाउन आग्रह गरेको छ।















