धनगढी- कैलालीमा सवारी दुर्घटनामा कमी आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्याङ्कले देखाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा पछिल्लो समय यहाँ दुर्घटनामा कमी आइरहेको पाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले गत तीन वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको बताए ।
उनका अनुसार जिल्लामा २०७७/७८ मा ३२७ सवारी दुर्घटनामा परेकोमा २०७८/७९ मा २६६ र चालु आर्थिक वर्ष २०७९/८० को अहिलेसम्म ९५ सवारी दुर्घटनामा परेको जानकारी दिए ।
कैलालीमा आएको दुई महिना पछि पत्रकारसँग परिचयात्मक कार्यक्रम गर्दै उनले शनिवार सो बारेमा जानकारी दिएका हुन् । २०७७/७८ मा ३२७ सवारी दुर्घटनामा ६९ जनाको ज्यान जाँदा २०७८/७९ मा २६६ सवारी दुर्घटना हुँदा ७६ जनाको ज्यान गएको छ । यस्तै चालु आर्थिक वर्ष २०७९/८० को अहिलेसम्म ९५ सवारी दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको छ।
अहिले धनगढी अत्तरिया ६ लेन सडकमा बत्ती जडान भएपछि दुई महिना यता कुनै पनि सवारी दुर्घटनामा नपरेको प्रहरी निरीक्षक जोहारीले बताए । जिल्लामा आएको दुई महिनामा आफूले यहाँको ट्राफिक व्यवस्थापनमा निकै चुनौती पाइएको बताए ।
सडक निर्माणाधीन अवस्थामा रहनु,मोहना अत्तरिया ६ लेन सडक खण्डमा पूर्वाधारको कमी, क्षमता भन्दा बढी अटो तथा ई(रिक्सा लगायतका समस्याले ट्राफिक व्यवस्थापनमा निकै चुनौती देखिएको उनले बताए । यी चुनौतीलाई समाधान गर्नको लागि विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रम गर्ने,सचेतना कक्षा सञ्चालन,अन द स्पोट सचेतना,चालक यात्रुसँग एक मिनेट कार्यक्रम जस्ता कार्य योजना बनाई अघि बढेको समेत बताए ।
पछिल्लो तीन वर्ष यता राजश्वमा समेत कमी आएको छ । २०७७/७८ मा ७९ हजार ८९ सवारी कारबाहीमा पर्दा ४ करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएकोमा २०७८/७९ मा ४२ हजार सवारी कारबाहीमा २ करोड ३३ लाख ७८ हजार पाँच सय र चालु आर्थिक वर्ष २०७९ /८० को हालसम्म २८ हजार ४ सय ७७ सवारी कारबाहीमा परेकोमा १ करोड ६१ लाख २६ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















