धनगढी । कैलालीमा दुई वटा फार्मेसीमा सिल गरिएको छ । औषधि व्यवस्था विभागको टोली र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको समन्वयमा गोदावरी नगरपालिकामा सञ्चालनमा रहेका फार्मेसीमा सिल गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अत्तरियामा सञ्चालनमा रहेको नेहा फार्मेसी र सुदूरपश्चिमाञ्चल सामुदायिक हस्पिटलमा सिल गरिएको छ ।
टोलीले कैलालीका आठवटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा फार्मेसी दर्ता नभएको, नवीकरण नभएको, सञ्चालक अनुपस्थित रहेको, लागुऔषध तथा मानसिक रोगसम्बन्धीका औषधिहरुको अभिलेखीकरण नगरेका लगायतका कमजोरी अनुगमनका क्रममा फेला परेको थियो ।
सामाजिक विकास मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख हेमराज खड्काले कैलालीका फार्मेसी तथा क्लिनिकहरुबारे मन्त्रालयमा गुनासो बढ्न थालेपछि बजार अनुगमन गरिएको बताए । उनले भने, ‘बजार अनुगमन भएमा फार्मेसी, क्लिनिक तथा अस्पतालमा भइरहेका कमीकमजोरीहरु सुधार हुँदैजान्छ । अब यसलाई नियमित दिइने छ ।’ उनले अनुगमनका क्रममा भेटिएका त्रुटिहरुलाई सच्याउन सुझाव दिएको बताए ।













