धनगढी- कैलालीको कैलारी गाउँपालिकामा १५ दिनका लागि भुक्तानी बन्द गरिएको छ। चालू आव २०७९/२०८० फागुन मसान्तसम्मको चालूतर्फको वित्तीय अवस्था ऋणात्मकमा जाँदा वित्तीय अवस्था घाटामा गएको हो। वित्तीय अवस्था ऋणात्मक भएपछि गाउँपालिकाले भुक्तानीको कार्य रोक्का गरेको छ।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार गाउँपालिकाको आन्तरिक राजश्व तथा आम्दानी बजेट अनुसार फागुन मसान्तसम्म १ करोड १६ लाख ३४ हुनुपर्नेमा ६१ लाख ५५ हजार मात्रै रहेको उल्लेख छ । जसअनुसार फागुनसम्ममा गाउँपालिका ५४ लाख ७९ हजार घाटामा रहेको सूचनामा उल्लेख छ।
त्यस्तै राजश्व बाँडफाँड (सङ्घ र प्रदेश)बाट फागुन मसान्तसम्म ८ करोड ७८ लाख ५४ हजार आम्दानी हुनुपर्नेमा ६ करोड २ लाख २ हजार ५९८ मात्रै आम्दानी भएको छ ।
जसअनुसार गाउँपालिका २ करोड ७६ लाख ५१ हजार ४०२ रुपैयाँ घाटामा रहेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले चालू खर्चतर्फ ऋणात्मक अवस्था आउन सक्ने सम्भावना रहेकोले १५ दिनको लागि भुक्तानी रोक्का गरिएको बताए ।













