धनगढी- नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरूले अछाम पुगेर कार्यकर्ता भड्काएको आरोप लगाएका छन् ।
धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उपाध्यक्ष पौडेलले कार्यकर्ता भड्काउने अभिव्यक्ति दिएको बताएका हुन् । उनले कसैप्रति विवाद र विरोध नगर्ने सहमति हुँदाहुँदै पनि पौडेलले त्यसको विपरीत कार्यकर्ता भड्काउने अभिव्यक्ति दिएको आरोप लगाए।
सोमबार अछामको साँफेमा आयोजित पार्टीको ग्रासरुट कार्यक्रममा उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत उपस्थित थिए । सो कार्यक्रममा उपाध्यक्ष पौडेलले आपत्तिजनक अभिव्यक्ति राखेपछि इमानदार कार्यकर्ताले प्रतिकार गरेको रावलले स्पष्ट पारे ।
पौडेलले पार्टीको नीति विपरीतका गतिविधि गरेको समेत रावलको आरोपप छ । साथै उनले निर्वाचनताका आफूले कसैलाई हराउन कुनै भूमिकासमेत नखेलेको स्पष्ट पारेका छन् ।













