धनगढी- कैलालीमा हैजाको संक्रमण फेला परेको छ। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भदौ १० गते माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको हो।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजविक्रम शाहीका अनुसार गौरीगङ्गा नगरपालिका-११ मसुरियाकी ३३ वर्षीया महिलामा उक्त संक्रमण देखिएको हो। उनका अनुसार ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी थिइन्।
दिल्लीबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएकोमा उनी स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन्। त्यहाँका चिकित्सकले शंकास्पद ठानेर भदौ ९ गते सेतीमा पठाएका थिए। पछि सेतीमा परीक्षण गर्दा उनमा संक्रमण फेला परेको हो।
अहिले उनको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। हिजोसम्म आईसीयुमा राखेर उपचार गरिरहेकोमा आज उनलाई नर्मल वार्डमा राखिएको बताइएको छ। एकताका महामारीको रुपमा फैलिएको हैजा लामो समयपछि पहिलोपटक कैलालीमा देखिएको हो।













