काठमाडौं- नेकपा (एमाले) को भोलिबाट प्रदेश अधिवेशन सुरू हुँदै छ। वैशाख २८–३० मा बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकले २०८० साललाई अधिवेशनको वर्ष बनाउने निर्णय गरेको थियो। त्यहीअनुसार एमालेले शनिबारदेखि प्रदेश तहका कमिटीबाट अधिवेशन सुरू गर्न लागेको हो। लुम्बिनीबाट एमालेले प्रदेश अधिवेशन गर्दै छ।
कार्यकारी र पदेन पोलिटब्युरो सदस्य हुने भएपछि केन्द्रीय नेताहरू नै प्रदेश अध्यक्षको दौडमा देखिएका छन्। पोलिटब्युरो सदस्य भइसकेकाहरू पनि कार्यकारी भूमिकाको लोभमा प्रदेशको नेतृत्व गर्न इच्छुक देखिएको नेताहरूले बताएका छन्।
त्यतिमात्र होइन, प्रदेशका अधिवेशनहरूबाट चुनिएर आउने नेतृत्वले नेकपा (एमाले) भित्रको शक्ति–संघर्षलाई पनि देखाउने नेताहरूले बताएका छन्।
एमालेले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन असोज २१ र २२ गते गर्दै छ। अहिले पार्टी सदस्यता प्रमाणीकरणको काम भइरहेको प्रदेश अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।
उनका अनुसार कर्णाली प्रदेशमा ५२ हजारको आसपासमा संगठित सदस्य रहेका छन्। सदस्यताको प्रमाणीकरण सकिएपछि भदौ मसान्तभित्र प्रतिनिधि छनोट हुने उनले जानकारी दिए।
सात भूगोल र एक गैरभूगोलमध्ये अन्तिममा अधिवेशन हुने भए पनि सुदूरपश्चिम प्रदेश अध्यक्षमा आकांक्षीहरूको दौडधुप तीव्र भइसकेको छ।अहिले अध्यक्ष रहेका दामोदर भण्डारी दोहोरिन पाउँदैनन्। बैतडीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकाले उनले प्रदेश अध्यक्ष बन्न नपाउने भएका हुन्।
अहिले प्रदेश अध्यक्षको दौडमा कृष्ण जैसी, लालबहादुर थापा र बचनबहादुर सिंह देखिएका छन्। यद्यपि अधिवेशन नजिकिँदै जाँदा आकांक्षी बढ्ने नेताहरूले जानकारी दिएका छन्।













