कञ्चनपुर- पश्चिम तराईका कैलाली र कञ्चनपुरमा साउन अन्तिम सातापछि वर्षा भएको छैन । लामो समयदेखि पानी नपरेर गर्मी बढेसँगै खेतीपातीसमेत प्रभावित हुन थालेको छ । खडेरीका कारण खेतमा धानका बोट सुक्न थालेका छन् ।
जलवायु तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार आइतबार यहाँको तापक्रम ३५ दशमलव ९ डिग्री सेल्सियस रह्यो । बर्खामै पानी नपर्दा प्रतिदिन गर्मी बढ्दो छ । अगस्ट २६ मा फाटफुट वर्षा भएको फिल्ड कार्यालयले जनाएको छ । त्यसयता वर्षा भएको छैन ।
‘अन्तिम पटक २६ अगस्टमा वर्षा भएको हो, त्यो दिन पनि फाटफुट मात्रै,’ फिल्ड कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले भने, ‘राम्ररी वर्षा नभएको त दुई साता नै भयो ।’ यस क्षेत्रमा साउन अन्तिम साता दुईरतीन दिन नियमित वर्षा भएको थियो ।
लामो खडेरीले धानबाली प्रभावित हुन थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिदत्त जोशीले बताए । अहिले धानमा गबारो, फड्के किरालगायत रोग देखिन थालेका छन् ।
‘वर्षा नहुँदा धानबालीमा विभिन्न किसिमका रोग देखिन थालेका छन्,’ उनले भने, ‘अहिले गबारो र फड्के किराको प्रकोप धेरै देखिएको छ ।’ धान पसाउने समय सुरु भएकाले यतिबेला खेतमा पानी चाहिन्छ । यसै बेला खेत सुक्खा हुँदा किसान चिन्तामा छन् ।
सिँचाइ सुविधा भएको क्षेत्रका किसान नहरबाट वा भूमिगत स्रोतबाट खेतमा पानीको व्यवस्था गरिरहेको ज्ञान केन्द्र प्रमुख जोशीले जनाए । अहिले रोग लागेका धानका बोट लिएर दैनिक १०/१५ जना किसान ज्ञान केन्द्रमा पुगिरहेका छन् ।
धेरैजसोको धानमा गबारो रोगकै प्रकोप देखिएको छ । ‘साता दिनसम्म अझै वर्षा नभए धान बालीमा अझै क्षति हुन सक्छ,’ जोशीले भने, ‘रोग–किराको प्रकोप बढ्दै गएर उत्पादनमा व्यापक असर पर्न सक्छ ।’
कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर साढे ३ टन छ । यस पटक दोदा नदी किनारमा बाढीले डुबानमा परेको क्षेत्रमा करिब ५ सय बिघामा लगाइएको धान नष्ट भएको छ । यसैगरी लामो खडेरीका कारण धानमा गबारोदेखि फड्के किराको प्रकोप बढेको छ । यसले धानको उत्पादकत्व घट्ने अनुमान छ ।
सामान्यतया जुन १० देखि मनसुन सुरु हुनुपर्ने हो । तर सुदूरपश्चिममा १४ दिन ढिला गरी जुन २४ मा सुरु भयो, जसका कारण रोपाइँ गर्न पनि ढिलो भयो । ‘अझै केही दिन वर्षा हुन सम्भावना छैन,’ फिल्ड सहायक चौधरीले भने, ‘मनसुनी वायु सक्रिय हुन समय लाग्छ ।’
एक साता अझै वर्षा हुने सम्भावना निकै कम रहेको मौसमविद् बताउँछन् । मनसुनी वायु न्यून चापीय रेखामा पुगेपछि मात्रै वर्षा हुने उनीहरूको भनाइ छ । कान्तिपुरबाट













