धनगढी- सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ। कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ लालपुर वाणीकी २५ वर्षीया राधा परियारको मृत्यु भएको हो।
शुक्रबार सेती अस्पतालमा आएकि परियारको सोमबार बिहान शल्यक्रिया पश्चात् मृत्यु भएको हो। शल्यक्रिया गरेर निकालिएको शिशुको पेट भित्रै मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार प्रसूति व्यथाको पीडाका कारण शल्यक्रिया पश्चात् मृतक परियार मुर्छा परेको र आइसियुमा राखेर उपचार गर्दा पनि होस नखुलेर मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ।
तर, मृतका आफन्तले भने अस्पतालका ड्युटीमा रहेका नर्सिङ स्टाफका कारण राधाको मृत्यु भएको बताएका छन्। मृतक राधाकी जेठानी कल्पना परियारले अस्पतालको लापरबाहीले राधाको मृत्यु हुन पुगेको बताएकी छिन्। शुक्रबार अस्पताल ल्याएर भर्ना गर्दा पनि ठिक समयमा शल्यक्रिया नगरेको कल्पनाले बताइन्।
‘हामी बहिनीलाई लिएर शुक्रबार अस्पताल आएका हौँ। आइतबारसम्म हाम्रो मान्छेको शल्यक्रिया गरिएन। बच्चाको टाउको ठूलो थियो भन्ने थाहा हुँदाहुँदै पनि समयमा शल्यक्रिया नगर्दा आमा र बच्चाको ज्यान गएको छ।
यसको जिम्मेवारी अस्पतालले लिनुपर्छ। हामी शव उठाउन्नौँ,’ कल्पनाले भनिन्। अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ।













