डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. २ रुपालमा २१ गते जोगेनी जाँत (जात्रा) मनाइने भएको छ । ३ वर्षको फरकमा मनाइने जोगेनी जाँतमा दलित पुजारीबाट पूजा आजा गरिँदै आएको छ । यो जाँतको आफ्नै परम्परागत कथन रहेको भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए ।
चटौतका अनुसार “डोट्याली राजा नागी मल्लको समयमा जाखमा बस्ने सुनीजातीका दलितहरू महाकाली नदीमा जाल हानेर गुजारा गर्थे र ठुलो माछा परेपछि राजाको दरबारमा पुर्याउने चलन थियो । दरबारमा पुर्याउँदा माछाहरू ढुङ्गामा परिणत भएकोमा वीरहरूलाई शान्त पार्न जाँत लगाइएको किम्बदन्ती छ ।”
महिनावारी तथा छुवाछुत मान्ने परम्परा रहेको यस क्षेत्रमा जोगेनी जाँतमा भने कोही पनि जान पाउने छुट रहेको स्थानीय जानकारहरू बताउनु हुन्छ । सुनी, तिरुवा र सार्की जातीले पूजाआजा गर्ने गरेका छन् । उक्त जाँत हेर्न भारतबाट समेत श्रद्धालुहरू आउने गरेका छन् । जाँतको अवसरमा गाउँपालिकाले बिदा दिएको छ ।













