बैतडी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता रहेका बताएका छन्।
आइतबार ११० औं बिपी जयन्तीको अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन्। उनले भने, “बिपी कोइराला राष्ट्रक्त र परिवर्तनकारी क्रान्तिकारी नेता हुनुहुन्थ्यो, राष्ट्रयता लागि सबै लडिरहने व्यक्तित्व हुनुहुनथ्यो। ”
राष्ट्रयता,स्वतन्त्रता र सामाजिक न्याय मानिसका आधारभुत चाहना हुन भन्ने बिपीले युवाहरुलाई संगठित गर्न नेविसंघ र तरुण दलको स्थापना गरेको मन्त्री भट्टले बताए।
पछिल्लो समय नेपाली कांग्रेसबारे गलत प्रचार भएको भन्दै मन्त्री भट्टले वैचारिक आन्दोलनको आवश्यकता रहेको औँल्याए। उनले भने, “कांग्रेसले गरेका राम्रा काम जनसमक्ष पुर्याउन जरुरी छ। यसका लागि वैचारिक आन्दोलनको आवश्यकता छ।”
कांग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका थिए।उनको जन्म विस १९७१ भदौ २४ गते भएको थियो।













