धनगढी- कैलालीको धनगढीबाट नक्कली मह बरामद गरिएको छ। आइतवार दिउँसो धनगढी उपमहानगरपालिका–२ फनपार्कस्थित रमेशकुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका भारतीय नागरिक मोहम्मद साहरीको छोरा ३० वर्षीय जुमाइदिन अन्सारीले चिनी पगालेर मह भन्दै बिक्रीका लागि राखेको सामग्री बरामद गरिएको हो।
प्लाष्टिकको डिब्बामा प्याक गरी राखेको पगालेको चिनीको रस चार सय किलो, बिना महको माहुरीको चाका ५ किलो, कुट दुई किलो, एक थान कडाई र चिनी ५० किलो बरामद गरिएको प्रहरीले जनाएको छ।
अखाद्य सामग्री उत्पादन तथा विक्रीवितरणमा संलग्न रहेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, वाणिज्य कार्यालय, धनगढी उपमहानगरपालिकाबाट समेत खटिएको संयुक्त टोलीले आवश्यक बारबाहीका लागि जुमाइदिन अन्सारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियन्त्रणमा लिएको छ।













