धनगढी- समाजवादी मोर्चा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभाको तयारी पुरा भएको छ । प्रदेशस्तरीय समाजवादी मोर्चा नेपालको भोली (मंगलबार) धनगढीमा हुने सन्देश सभाको तयारी पुरा भएको हो । प्रदेशस्तरीय सन्देश सभाको तयारी पुरा भएको माओवादी केन्द्र प्रदेश कार्यालय सचिव उद्धव भट्टराईले जानकारी दिए ।
सन्देश सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व–प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपाका अध्यक्ष उपेन्द्र यादव आउने तयारी रहेको उनले बताए ।
प्रदेशस्तरीय सन्देश सभामा सबै पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्लाका नेताहरू गरेर एक हजार जनाको सहभागिता रहने उनले बताए ।
मोर्चाको यस अघि भदौ १३ गते प्रदेशस्तरीय सन्देश सभा स्थगित भएको थियो । मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन्













