महेन्द्रनगर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका कर्मचारीले मंगलबार सेवा अवरुद्ध पारेका छन्। सोमबार कर्मचारीहरु कार्यालय समयमा नआएपछि गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए।
सोमबार कार्यालय प्रवेश नपाएका कर्मचारीहरुले मंगलबार कार्यालयको सेवा अवरुद्ध गरेका हुन्। कर्मचारीहरुले अध्यक्ष रानाले आफूरुहरुको अपमान गरेको भन्दै मंगलबार सेवा अवरुद्ध गरेका हुन्।
कार्यालय समयभन्दा ढिलो आउने र छिट्टै कार्यालयबाट बाहिरिने गुनासो आएपछि सोमबार ढिलो आउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएको अध्यक्ष रानाले बताए। ‘कार्यालय समयमा पनि नआउने अनि आन्दोलन गरेर हुन्छ जनताको सेवा गर्नु पर्दैन?’, अध्यक्ष रानाले भने, ‘कर्मचारीहरु नसबस्ने,ढिलो गरी आउने गरेको भन्ने नागरिकको लिखित र मौखिक गुनासो आएको थियो।’
उनका अनुसार ४० जना कर्मचारीमध्ये कार्यालय समयमा ४ जना मात्रै उपस्थित थिए। सोमबार कार्यालयबाट फिर्ता भएका कर्मचारीहरु त्यसको विरोधमा मंगलबार उत्रिएका छन्।
गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत पदमराज जोशीले सेवा सुचारु भइसकेको बताए। ‘हिजोको विषयमा केही असमझदारी थियो अहिले सहमति भएर कर्मचारी काममा फर्किसकेका छन्’, उनले भने। कर्मचारीहरुले सेवा ठप्प पारेपछि दुई दिनदेखि गाउँपालिकाको काम प्रभावित बनेको छ।













