धनगढी- कैलालीको गोदावरी नगरपालिका–९ बल्मीकी खन्टी ठकुल्ला घरायसी कामकाज सकेर गिट्टी फुटाउने काम गर्छिन् । उमेरले ४० वर्षिया ठकुल्ला फुर्सदको समयमा गाउँ नजिकैको खुटिया नदीमा गिट्टी फुटाउन पुग्छिन् ।
उनलाई स्कुल विदाको दिन उनका दुई छोरीहरुले पनि गिट्टी फुटाउन सहयोग गर्छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै वर्षभरीका करीव ४÷५ महिना गिट्टी फुटाउने गरेको उनी बताउँछिन् ।
घरको काम सकाएर गिट्टी फुटाउन आउने खन्टी कमाइ पनि राम्रै गर्छिन् । उनले भनिन् ‘गिट्टी कुटेर महिनामा ८ देखि १० हजारसम्म कमाइ हुन्छ,यो कमाइले घरखर्च चलाउन सहज भएको छ । खन्टीका श्रीमान कामको सिलसिलामा भारत छन ।
उनले भनिन् ‘नेपालमा केही रोजगारी पाइदैन, श्रीमान भारत हुनुहुन्छ,उहाँको कमाइ पनि थोरै छ घरखर्च चलाउन,छोराछोरीको पठाइलेखाइ खर्च धान्नै मुस्किल हुन्छ,हामीले यहाँ गरेको कामले घरव्यवहार चलाउँन सहज भएको छ’ ।
पाँच जनाको परिवार रहेको बताउँदै खन्टीले भनिन् ‘परिवार ठूलो छ जग्गा जमिन छैन् यसरी काम गरेर गुजारा चलाउनु परेको छ,अरु काम गरौँ भने काम पाइदैन्,यही गिट्टी फुटाउन परेको छ’ ।
देखिदा सहज,आम्दानी हुने भएपनि काम गर्न चाहिँ साह्रै अप्ठेरो हुने गरेको उनी बताउँछिन् । ‘देख्दा सजिलो देखिन्छ काम गर्न अप्ठेरो छ’ उनले भनिन् ‘खोलाबाट ढुंगा बोकेर खोला छेउमा ल्याउनु पर्छ,फुटाउँदा पनि चोट पटक लाग्ने डर हुन्छ’ ।
‘देशमा रोजगारी छैन,गिट्टी फुटाउनुको विकल्प छैन,बेरोजगार भएर बस्नुभन्दा यही अप्ठेरो काम गरेर भएपनि गुजारा त चलाउनै प¥यो’ उनले भनिन । स्कुल छुट्टी भएकाले आमालाई सघाउन छोरी माया ठकुल्ला पनि गिट्टी फुटाउन आएकी थिइन् ।
मायाले भनिन् ‘विद्यालयमा विदा भएकाले आमालाई सहयोग गर्न आएकी हुँ,विदाका दिनहरुमा म पनि आएर आमासँगै गिट्टी फुटाउँछु’ । स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्ने गरेकी मायाले विदाको दिनमा पढाइ खर्च निकाल्न काम गर्न आउने गरेको बताइन् ।
फुटाएका गिट्टी बिक्री गर्न पनि सहज हुने खन्टी बताउँछिन् । गिट्टी कहाँ लगेर बेच्ने भन्ने समस्या हुँदै किन्ने मान्छेहरु नदीमै आएर लगेर जान्छन्,बेच्नलाई अप्ठ्यारो छैन् ।
उनी मात्रै हैन् नदीमा धेरै महिलाहरु गिट्टी कुट्नमा व्यस्त रहेका देखिन्थे । गिट्टी फुटाउने कामलाई धेरैजसो त्यहाँका स्थानीय महिलाहरुले आम्दानीको श्रोत नै बनाएका छन् ।















