नरेन्द्र रावल/अछाम- दशैं तिहार आउनै लाग्दा अछाम जिल्लामा विगतका वर्षको तुलनामा यो वर्ष पनि खाद्यान्नको चरम अभाव भएको छ ।
अछाम सदरमुकाम मंगलसेन स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयको गोदाममा जम्मा २७ क्विन्टल मात्र मोटा चामल बाँकी रहँदा चामल लिन आउने उपभोक्तहरु रित्तो हात घर फर्किने गरेकाछन ।
दैनिक एक सय कट्टा भन्दा बढी चामल बिक्री वितरण हुने खाद्य शाखाको गोदाम रित्तो भएपछि चामल लिन आउने उपभोक्ता निराश बन्दै गएको ढकारी गाउँपालिकाका पूर्णबहादुर बुढाले बताए । गोदाम घरमा चामल सकिनै लाग्दा थप ढुवानी हुन नसकेकाले अछाम जिल्लामा खाद्यान्नको अभाव भएको हो ।
जिल्लामा चामल अभाव भएकै कारण खाद्य व्यवस्थापन समितिको बैठक बसेर एक हजार कुईन्टल प्रादेशिक कार्यालय धनगढी र एक हजार कुईन्टल राजपुरलाई माग गरेको र समयमा चामल नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछामका निमित्त प्रमुख राम प्रवेश मंडलले बताए ।
अछाम जिल्लामा अधिकांश जमिन बाझै रहनु र यसबर्ष धानको उत्पादनमा कमी आउनु र समयमा चामल ढुवानीको अभावमा उपभोक्ताहरूले खाद्यान्नको अभाव बेहोर्नु परेको छ । जिल्लामा रहेका कमलबजार र विनायक नगरपालिका स्थित खाद्य डिपोमा समेत चामल अभाव भइरहेको बताउँदै माग अनुसार खाद्यान्न नमिलेको पूर्वी अछामका उपभोक्ताहरुले बताएका छन् ।















