कञ्चनपुर- कञ्चनपुरमा रुख काटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा भएका छन् । जिल्लाको बेलौरी नगरपालिका–६ का वडाध्यक्ष भोजराज चौधरी बुधवार रिहा भएका हुन्। वडाध्यक्ष चौधरी बेलौरी छोटी भन्सार कार्यालय परिषर भित्र रहेको झाँडी सफाईका क्रममा रुख काटेको आरोपमा आइतबार पक्राउ परेका थिए।
वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले आइतबार साँझ महेन्द्रनगरबाट पक्राउ गरेको थियो। पक्राउ परेका वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।
झाँडी सफाईका क्रममा सरकारी कार्यालय परिषर भित्र रहेका रुख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरी विरुद्धमा उजुरी गरेपछि चौधरीलाई पक्राउ गरिएको थियो।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले सरकारी वकिल कार्यालयको राय अनुरूप वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको बताए।
वडाध्यक्ष रिहा भए पनि मुद्दा भने जारी रहेको प्रमुख कँडेलले बताए। अनुमति बिना रुख कटानी गरेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कँडेलले बताएका थिए।













