बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले गर्भवती र सुत्केरीलाई रेफर गर्नुपरे यातायात खर्च व्यहोर्ने भएको छ। जटिल समस्याका गर्भवती र सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पतालहरूमा प्रेषण गर्नु परेमा यातायात खर्च गाउँपालिकाले व्यहोर्ने भएको हो।
गाउँपालिकाले एक सूचना जारी गरेर पालिका भित्रका बर्थिङ सेन्टर तथा स्वास्थ्य चौकीबाट जटिलता देखा परि प्रसूति तथा गर्भवतीलाई सुविधा सम्पन्न अस्पताल प्रेषण गर्नु परे यातायात खर्च स्वास्थ्य शाखाबाट भुक्तानी गरिने उल्लेख गरेको छ।
खर्चका लागि रेफर गरिएको कागजात, स्वास्थ्य संस्थाबाट लिएको सेवा सम्बन्धी कागजात र एम्बुलेन्सको विल सहित निवेदन स्वास्थ्य शाखामा बुझाउन पालिकाले अनुरोध गरेको छ । पञ्चेश्वर गाउँपालिकाले दिने यो सुविधाले आर्थिक अभाव भएकालाई सहज भई मातृ तथा शिशु मृत्युदरमा कमी आउने अपेक्षा गरिएको छ।
















