धनगढी- वर्षा याममा कञ्चनपुरको पुनर्वास नगरपालिकामा सयौँ बिघा धान र उखु बाली नष्ट प्रकरणमा सुदूरपश्चिमको भूमि व्यवस्था तथा कृषि मन्त्रालयले हात झिकेको छ ।
औद्योगिक रसायनले धान र उखु बाली नष्ट भएको र त्यसको क्षेत्राधिकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको रहेको भन्दै प्रदेशको कृषि मन्त्रालयले हात झिकेको हो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भने, ‘कृषि बाली नष्ट भएको हुँदा हामीले त्यसको नमूना परीक्षण गरी यकिन कारण पत्ता लगाउनेसम्मको काम गर्यौँ ।
परीक्षण रिपोर्ट अनुसार कृषि बाली नष्ट हुनुको कारण पानीमा देखिएको रसायनको मात्रा बढी भएको पुष्टि भएको छ । त्यो रासायन कुनै उद्योगबाट आएको हुनाले हाम्रो कार्य क्षेत्रभित्र पर्दैन । त्यसको नियमनकारी निकाय उद्योग मन्त्रालय रहेकाले फाइल उद्योग मन्त्रालयमा पेस गरेका हौँ ।’
तर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भने यसबारे कुनै चासो देखाएको छैन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलले उद्योगको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अध्ययन गर्न आफूहरुले घरेलु उद्योग कार्यालयसँग बुझिरहेको बताए । कहिलेसम्म अध्ययन होला भन्ने जिज्ञासामा सचिव पौडेलले अनभिज्ञता व्यक्त गरे ।













