भजनी- कैलालीको टीकापुर अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा बिहान ८ बजेदेखि सञ्चालन गरेको छ । यसअघि बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुँदै आएको बहिरङ्ग सेवा बिहीबारदेखि बिहान ८ देखि ४ बजेसम्म सञ्चालन हुन थालेको छ । कार्यालय समयभन्दा अगाडि नै सेवा सुरु गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको अस्पतालले जनाएको छ ।
कार्यालयबाट बिदा लिएर आमाको उपचारका लागि बिहान ८ बजे नाम दर्ता गर्न अस्पतालमा पुग्नुभएका टीकापुरका सुवर्ण चौधरीले उपचार ९ बजे नै सकिएपछि बिदा नपरेको बताए । “उपचारका लागि चिकित्सक १० बजेमात्र अस्पताल आउने भएकाले मैले अफिसमा बिदा मागेको थिएँ । आठ बजे नाम दर्ताका लागि जाँदा अस्पतालमा उपचार सुरु भइसकेको थाहा पाएपछि आमालाई घरबाट ल्याएर ९ बजेभित्रै सबै काम सकेँ”, उनले भने, “आमाको उपचारको काम सकेपछि अफिसबाट मागेको बिदा फिर्ता गर्दै अफिस पुगेँ ।”
अस्पतालले बिहानको समयमा बहिरङ्ग सेवा सुरु गरेर राम्रो गरेको स्थानीय नरबहादुर विष्टले बताए । उनले ८ बजे नाम दर्ता काउन्टर खुलेर १० बजेपछि मात्रै उपचारमा चिकित्सक आउँदा बिरामीलाई धेरै समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । “बिहानै औषधि सेवन गर्ने बिरामीका लागि र दिनभर काम गर्नुपर्ने व्यक्तिका लागि बिहानै अस्पतालले उपचार सेवा सुरु गरेर राम्रो कामको सुरुआत हो”, विष्टले भने, “स्थानीय सेवाग्राहीका लागि यो राम्रो कुरा हो । यसले अस्पताल र सेवाग्राही दुवैलाई फाइदा हुन्छ । लामो समयसम्म पालो कुरेर बस्नुपर्ने बाध्यताको पनि यसबाट अन्त्य भएको छ ।”
कैलालीको लम्कीबाट टीकापुर उपचारका लागि ८ बजे नै अस्पताल पुग्नुभएकी सीता देवकोटाले पनि बहिरङ्ग सेवा समयमै सञ्चालन हुँदा पालो कुर्नु नपरेको बताए । अस्पतालमा भीडभाड बढी हुने भएपछि खाना नखाएरै उपचारका लागि पुग्नुभएकी देवकोटाले खाना खाने समयमा घर पुग्ने बताए । “पालो छिटो पाउनका लागि मजस्ता सयौँ बिरामी भोकभोकै अस्पताल पुग्नुहुन्छ । उनीहरूका लागि अस्पतालमा लामो पर्खाइ हुन्छ”, उनले भने, “यसभन्दा पहिला आउँदा मैले पनि दिनभर अस्पतालमै दिन बिताएकी थिएँ । अहिले भने निकै सहज भएको छ ।”
अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले अस्पतालले बहिरङ्ग सेवाको समय बढाउने निर्णय यसअघि नै गरेको बताउनुभयो । उहाँले नाम दर्ताका लागि अस्पताल पुगेका व्यक्ति उपचार गरेरै घर फर्किनुहोस् भन्ने उद्देश्यले बहिरङ्ग सेवा ८ देखि ४ बजेसम्म सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।
“सेवाग्राहीले एक समय नाम दर्ता गर्ने, फेरि घर पुगेर पुनः उपचारका लागि आउने गरेका थिए भने बाहिरका सेवाग्राहीले लामो समय कुर्नुपर्ने स्थिति थियो”, अध्यक्ष सोडारीले भने, “सेवाग्राहीको भीडभाड कम होस्, सबैले सर्वसुलभ सेवा पाऊन् भनेर बहिरङ्ग सेवाको समय बढाएका हौँ ।” अन्य सेवा प्रवाहको कामलाई पनि त्यहीँ समयअनुसार परिमार्जन गरेर सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाहका लागि काम भइरहेको उनले जानकारी दिए ।
अस्पतालले यसअघि ज्येष्ठ नागरिकका लागि शनिबार पनि बहिरङ्ग सेवा दिँदै आएको थियो । शनिबार बिहान १० देखि २ बजेसम्म ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा दिँदै आएको हो । अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन् । अस्पतालले फार्मेसी सेवा व्यवस्थित गरेको छ । फार्मेसीमा एकजना परामर्शदाताको व्यवस्थापन गर्ने तयारी अस्पतालले गरेको छ । परामर्शदाताले औषधिको प्रयोगका बारेमा बिरामीलाई सहजीकरणको काम गर्नेछ ।
“चिकित्सकले लेखेको औषधि लिएर हामी सेवन गर्छौ तर त्यसको ‘साइड इफेक्ट’का बारेमा हामीलाई थाहा हुँदैन”, अध्यक्ष सोडारीले भने, “परामर्शदाता भए उसले कुन औषधिको साइड इफेक्ट के हुन्छ, कुन औषधिले स्वास्थ्यमा राम्रो–नराम्रो परिणाम ल्याउने हो, त्यो बिरामीलाई सहजीकरण गरिदिन्छ । अस्पतालमा मिर्गौलाको डायलायसिस सेवा सञ्चालनको काम अगाडि बढाएको उनले जानकारी दिए । उनका अनुसार डायलायसिस सेवाका लागि चाहिने उपकरण अस्पतालले व्यवस्थापन गरिसकेको छ । सघन उपचार कक्षका लागि काम गरिरहेको छ ।
“डायलायसिस सेवा सञ्चालन गर्नका लागि उपकरण आइसकेको छ । अब त्यसको जडान र जनशक्ति व्यवस्थापनको कुरामात्रै बाँकी छ”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।रेमकुमार राईले भने, “सम्भवतः केही महिनामै डायलायसिस सेवा सञ्चालन हुन्छ । त्यसले डायलायसिसका लागि बाहिर जानुपर्ने बाध्यता हटेर जानेछ ।” रासस
















