धनगढी । राहत सामाग्री लिएर डडेल्धुराकी समाजसेवी गीता भट्टको टोली जाजरकोट प्रस्थान गरेको छ ।
शनिबार जाजरकोटका भूकम्प प्रभावितका लागि न्यानो लुगा लिएर उक्त टोली धनगढीबाट जाजरकोट प्रस्थान गरेको हो ।
उक्त टोली उपकारी नेपाली समूह साउदी अरेबिया,पारिवारिक समाज नेपाल,कास्की आदर्श समाज, सुदूरपश्चिमेली नेपाली समाज साउदी अरेबियाको समन्वय र सहयोगमा तथा नेपालका लागि समाजसेवी गीता भट्टको समन्वयमा राहत सामग्री लिएर जाजरकोट प्रस्थान गरेको डडेल्धुराका युवा समाजसेवी पुष्पराज भट्टले जानकारी दिए ।
आइतबार जाजरकोटका सम्बन्धित निकायहरुसंगको समन्वयमा राहत वितरण गरिने उनले बताए ।
थोरै भएपनि राहत पुगोस् भन्ने उदेश्यले आफूहरु राहत (न्यानो कपडा)लिएर भूकम्प प्रभावित क्षेत्रमा जान लागेको समाजसेवी गीता भट्टले बताइन । उनले भनिन् दु:खमा सहयोग गर्नु मानवीय धर्म पनि हो,थोरै भएपनि राहत पुगोस् भन्ने हाम्रो उदेश्य हो।
साथै उनले विदेशमा पसिना बगाइ आपत विपदमा परेका हरुलाई सहयोग गर्दै आइरहेका मनकारी नेपालीहरुलाई आभार व्यक्त गरिन ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते राति गएको भूकम्पले ठूलो धनजनको क्षती हुनुका साथै हजारौ परिवार प्रभावित भएका छ्न ।
















