धनगढी- कैलालीको गेटामा सरकारद्वारा प्रस्तावित सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइनुपर्ने संघर्ष समितिको माग र प्रतिष्ठान बनाइनुपर्ने डा। गोविन्द केसीको अडानले दुवै पक्षबीच ‘टकराव’ भएको छ । यही मागलाई लिएर केसी शुक्रबारदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा तीन दिने अनसनमा छन् ।
संघर्ष समितिले केसीले प्रतिष्ठानको माग राखेर सुदूरपश्चिम प्रदेशका बासिन्दाको भावनाविरुद्ध खेलबाड गरेको आरोप लगाएको छ । विश्वविद्यालय बनाउने नाममा स्थानीयलाई झुलाउने कुरा मात्र भएकाले प्रतिष्ठान बनाएर छोटो बाटोबाट विशेषज्ञ स्वास्थ्य सेवासहित शिक्षण अस्पताल सञ्चालन गरिनुपर्ने केसीको भनाइ छ ।
संघर्ष समितिले गेटामा ६ सय शैय्याको अस्पतालसहित राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्नुपर्ने अडान लिँदै चरणबद्ध आन्दोलन गर्दै आएको छ । पछिल्लो समय सरकारले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न विधेयकसमेत अघि बढाइसकेको छ । यससम्बन्धी विधेयक राष्ट्रिय सभामा छलफलका क्रममा छ ।
‘यस अवस्थामा केसीले प्रतिष्ठान हुनुपर्ने माग राख्नु सुदूरपश्चिमवासीको लामो समयको संघर्ष, मर्म र भावनाविपरीतको कदम हो,’ संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले भने, ‘हामी मेडिकल विश्वविद्यालय स्थापनाको माग र प्रक्रियाबाट पछाडि फर्किने कुनै सम्भावना छैन । जस्तोसुकै परिस्थितिमा मेडिकल विश्वविद्यालय स्थापना गराइछाड्छौं ।’
केसी भने विश्वविद्यालय बन्नै नसक्ने भन्दै प्रतिष्ठान बनाउनुपर्ने अडानमा छन् । ‘विश्वविद्यालय स्थापना गर्ने नाममा सुदूरपश्चिमका बासिन्दालाई झुलाउने कुरा मात्र हो,’ उनले भने, ‘गेटालाई प्रतिष्ठान बनाएर छोटो बाटोबाट विशेषज्ञ स्वास्थ्य सेवासहित शिक्षण अस्पताल सञ्चालन गर्नुपर्छ ।’
यसअघि सरकारले पनि आफूसँग प्रतिष्ठाननै बनाउने सहमति गरिसकेकाले कुनै पनि हालतमा आफ्नो अडानबाट पछि नहट्ने उनले दोहोर्याए । केसी गेटालाई प्रतिष्ठान बनाउनुपर्ने लगायतका विभिन्न माग राख्दै शुक्रबार साँझदेखि ७२ घण्टे अनशन बसिरहेका छन् । धनगढीका नागरिक अगुवा पदमराज जोशीले पछिल्लो टकरावले सुदूरपश्चिममा शिक्षण अस्पताल बन्नै नदिने चलखेललाई मलजल हुने र सुदूरपश्चिमका बासिन्दा फेरि विशेषज्ञ स्वास्थ्य सेवा र मेडिकल शिक्षाको अवसरबाट वञ्चित हुन सक्ने जोखिम निम्तिएको बताए ।
प्रतिनिधिसभाका पूर्वसदस्य दीपकप्रकाश भट्टले मेडिकल विश्वविद्यालय निर्माण प्रक्रिया अघि बढिसकेको अवस्थामा प्रतिष्ठान बनाउने कुरा पश्चगामी कदम भएको र त्यसमा सम्झौता गर्न नसकिने बताए । यता सरकारले पनि हाल एक सय शय्याको स्वीकृति दिएर गेटा अस्पतालका नाममा सुरु गराएर आलटाल गरेकोमा पनि स्थानीय बासिन्दा आक्रोशित छन् ।
















