काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोबिन्द केसीले आफ्नो तीन दिने सत्याग्रह आज तोड्ने भएका छन् । गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा.केसीले ७२ घन्टा पुगेपछि आज सत्याग्रह तोड्ने बताएको केसीका सहयोगी डा.अमृत जैसीले जानकारी दिए ।
हामीले सत्याग्रह हिजो तोड्ने भनेका थियौं तर, उहाँले ७२ घन्टा नपुगेकाले तोड्न मान्नुभएन’, डा.जैसीले भने । बढ्दो उमेर र हालैमात्र शल्यक्रिया गरेका कारण डा। केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ ।
उनका अनुसार डा.केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । ‘उहाँको स्वास्थ्य अवस्था बिग्रदै गएकाले स्लाइन चढाउन खोजेका थियौं । तर, उहाँले मान्नुभएन’, डा.जैसीले भने, ‘आजदेखि त शैचालय पनि जान नसक्ने अवस्थामा पुग्नुभएको छ ।’
डा.केसीले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा.केसीले शुक्रबार बेलुकी २१ औँ अनसन सुरु गरेका हुन् ।
उनी गत शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अनसनका लागि धनगढीस्थित गेटा अस्पताल पुगेका थिए । तर सत्याग्रह बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए । त्यसपछि उनी स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा गएर अनसन सुरु गरेका थिए ।













