धनगढी- नेश्नल प्याब्सन कैलालीको ९ औँ जिल्ला अधिवेशन शनिवार हुने भएको छ । प्याब्सनले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गरेर अधिवेशनबारे जानकारी गराएको हो । अधिवेशन कैलालीको गोदावरी रिसोर्टमा हुने छ । पत्रकार सम्मेलनमा बोल्दै संस्थापक महासचिव अर्जुन बहादुर अधिकारीले सरकारले निजी क्षेत्रबाट सञ्चालित विद्यालयमा भएको लगानीको सुनिश्चित गर्नुपर्ने बताए ।
उनले निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोले सरकारले त्यसको मूल्यांकलन गरेर शिक्षा नीतिमा एक रुपकता ल्याउनुपर्ने बताए । पत्रकार सम्मेलनमा नेश्नल प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद जोशीले सरकारले ल्याएको शिक्षा विधेयक त्रुटिपूर्ण भएकोले त्यसलाई परिमार्जन गर्न आवश्यक भएको बताए । सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै जोशीले भने निजी विद्यालय संस्कारिक तथा वैचारिक शिक्षा उत्पादन गर्ने थलोको रूपमा बुझ्न आवश्यक भएको छ ।
नेश्नल प्याब्सनका जिल्ला अध्यक्ष राजेन्द्र चापागाईँको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय सचिव धर्मराज रेग्मीले सरकारले निजी विद्यालयलाई गुठीमा राख्न खोजेको भन्दै विद्यालयमा भएको लगानी सुनिश्चितताका लागि एन प्याब्सनले सरकारसँग विभिन्न माग राख्दै आएको बताए ।













