काठमाडौं- नेपालमा पूर्ण स्तनपान गराउनेमा कर्णाली र सुदूरपश्चिम प्रदेश पहिलो भएका छन्। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत रहेको छ भने लुम्बिनी प्रदेशमा सबैभन्दा कम अर्थात् ३६ प्रतिशत रहेको छ।
उक्त तथ्यांक अनुसार नेपालमा बोतलपान गराउनेहरुको संख्या २२ प्रतिशत रहेको छ। उक्त संख्या बाग्मती प्रदेशमा सबैभन्दा बढी ४३ प्रतिशत तथा कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत रहेको छ।
तथ्यांक अनुसार नेपालमा ५ वर्ष मुनिका २५ प्रतिशत बालबालिकाहरु पुड्कोपना, ८ प्रतिशत ख्याउटेपना, १९ प्रतिशत कम तौल र ४३ प्रतिशत रक्तअल्पताबाट ग्रसित रहेका छन्। संसारभर हुने बाल मृत्युदरको ४५ प्रतिशत कारण कुपोषण रहेको तथ्यांकले बताउँछ।
नेपाल सरकारले मातृ तथा शिशु स्वास्थ्यमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनुचित प्रयोगले हुने असरलाई न्युनीकरण स्तनपानको संरक्षण गर्नका लागि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण ऐन ,२०४९ तथा नियमावली ,२०५१ को व्यवस्था समेत गरेको छ।
ऐनको दफा १३ अनुसार उत्पादक ,वितरक, स्वास्थ्य सेवा निकाय, तथा स्वास्थ्य कार्यकर्ताहरुबाट यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम पालन भएको नभएको निरीक्षण गरी पालना नभएको अवस्थामा आवश्यक कारवाही समेत अगाडि बढाउने व्यवस्था छ।
















