धनगढी- नेपालमा पाठेघर मुखको क्यान्सर बढी जोखिममा रहेको पाइएको छ । विश्वमा पाँचौ स्थानमा रहेकी पाठेघरको क्यान्सर नेपालमा पहिलो स्थानमा रहेको छ । २०२० को तथ्याङ्क अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सर हुने दर १६.४ प्रतिशत र मृत्युदर ११.१ प्रतिशत रहेको हो। महिलामा घातक रोगको रूपमा देखिएको पाठेघरको मुखको क्यान्सर रोग परीक्षण र उपचारका लागि सचेतना फैलाउन आवश्यक रहेको बताइएको छ।
धनगढीमा आइतवार आयोजित एक कार्यक्रममा महिलालाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि जनचेतना फैलाउन आवश्यक रहेको औँल्याइएको हो। जोगिन सकेमा क्यान्सर केही नरहेको उल्लेख गर्दै क्यान्सर जित्नु भएका जगन्नाथ ढकालले जनचेतना फैलाएर पाठेघरको मुखको क्यान्सरबाट धेरैलाई जोगाउन सकिने बताए ।
स्त्री रोग परीक्षण गराउन अझै पनि लाज मान्ने र धेरैलाई ज्ञानसमेत नहुने कारणले नेपालमा पाठेघरका मुखको क्यान्सरको बिरामी बर्सेनि १० हजार थप भइरहेको जनाइएको छ। यो रोगको कारण दैनिक चार जना महिलाले ज्यान पनि गुमाइरहेका छन्। जुन, गर्भावस्थाका कारण महिलाको हुने मृत्युभन्दा बढी मृत्यु हो।
गर्भावस्थाका कारण हुने आमाको मृत्युभन्दा पनि पाठेघरको मुखको क्यान्सरका कारण महिलाको मृत्यु बढी भइरहेको परिवार कल्याण महाशाखाका विष्णु बास्कोटाले बताए। उनका अनुसार गर्भावस्थाका कारण दैनिक दुई महिलाको ज्यान जाने गरेको छ। पाठेघरको मुखको क्यान्सरका बिरामीको मृत्युदर भयावह रहे पनि स्क्रिनिङमा पालिकाले ध्यान नदिएको बास्कोटाको ठम्याइ छ। उनले बेलैमा स्क्रिनिङ गरेर रोग पत्ता लगाइ उपचार गरेर त्यसबाट छुटकारा पाउन सकिने बताए ।
पाठेघरको मुखको क्यान्सरबाट जोगिन यौनकार्य पूर्व ९ देखि १४ वर्षमुनिका किशोरीलाई एचपीभी (ह्युमन पपिलोमा भाइरस) खोप दिन सकिने जनाइएको छ। यसैगरी, ३० देखि ४९ वर्ष उमेरका महिलाको स्क्रिनिङ गरेर रोग पत्ता लगाइन्छ। भीआइए (भिजुअल इन्पेक्सन विथ असेटिक एसिड) बाट जाँच गरी पाठेघरको मुखमा क्यान्सर सङ्क्रमण रहे वा नरहेको पत्ता लगाउन सकिन्छ। थप पुष्टि गर्न एचपीभी डीएनए टेस्ट गर्न सकिने जनाइएको छ।
किशोरीलाई खोप, रोग पत्ता लगाउने कार्यलाई तीव्रता र रोग पत्ता लागेकाहरूको उपचार गर्न सकिएमा नेपालमा पाठेघरको मुखको क्यान्सर निवारण गर्न सकिने जनाइएको छ। यसकै लागि सरकारले दिगो विकास लक्ष्य २०३० सम्म ९० प्रतिशत किशोरीलाई एचपीभी खोप दिने, ७० प्रतिशत स्क्रिनिङ गर्ने र रोग पत्ता लागेका ९० प्रतिशतको उपचार गर्ने लक्ष्य लिएको छ।
यति भएमा पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदरलाई ३० प्रतिशत कम गर्न सकिने बताइएको छ। तर, हालसम्म ११ प्रतिशतमात्रै स्क्रिनिङ भएको जनाइएको छ। स्क्रिनिङ गरिएकामध्ये ७ प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर पुष्टि भएको छ। नेपालमा पाठेघर मुखको क्यान्सर रोकथाम निर्देशिका २०७९ जारी भए पनि अत्यधिक महिलाको अझै स्क्रिनिङ हुन नसकेको बास्कोटाको ठहर छ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, स्क्रिनिङ र उपचार वृद्धिका लागि जनचेतना फैलाउन आवश्यक रहेको स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुङ्गेलले बताए । यसैगरी, भीआइए टेस्टबाट १० वर्षपछि हुने पाठेघरको मुखको क्यान्सर पनि पत्ता लाग्ने भएकाले सरोकारवालाले जाँच र उपचारमा ध्यान दिनु पर्ने समीर भण्डारीले जोड दिए । पुरुषका कारण महिलामा पाठेघरको मुखको क्यान्सर हुने जनाइएको छ। पुरुषबाट महिलामा भाइरस सरेर पाठेघरको मुखको क्यान्सर हुने गर्दछ।













