मङ्गलसेन- जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले व्यक्तिगत लगानीमा पाँच वर्षयता एभोकाडोको विरुवा बाँड्न थालेका छन् । कृषकलाई आधुनिक खेतीतिर आकर्षित गर्न निजी लगानीमा एभोकाडोको बिउ उमारेर विभिन्न स्थानमा वितरण गरिरहेका हुन् ।
“एक वर्षमा ३०/४० हजारको बिउ उमारेर निःशुल्क बाँड्ने गरेको छु ।” कुँवरले भने, “राम्रो उत्पादन र आयआर्जनमा सहज भएकाले आफैँ बिउ उमारेर यहाँका कृषकलाई बाँड्ने गरेको छु ।” अछामका आठ स्थानीय तहका विभिन्न कृषकलाई नमुनास्वरूप बिरुवा वितरण गर्ने गरेको कुँवरको दाबी छ । साँफेबगर, मेल्लेख, बान्नीगढी, मङ्गलसेनलगायत स्थानीय तहमा एभोकाडोको बिरुवा निःशुल्क बाँड्नुभएको हो ।
स्थानीय तहमा पुगेर एभोकाडो बाँड्ने योजना रहेको कुँवरले सुनाए । परम्परागत कृषिभन्दा आयआर्जनमूलक खेतीपातीमा लाग्न कुँवरको सुझाव छ । “कृषि बँचे मात्रै देश बच्ने हो, त्यसैले राम्रो योजना बनाएर कृषिमा लगानी गर्नुपर्छ भनेर मैले हरेक ठाउँमा भन्दै आएको छु,” कुँवरले भने। स्थानीय तहले आधुनिक कृषि प्रविधि अपनाएर युवालाई गाउँमै स्वरोजगारमूलक बनाउन सकिने प्रमुख कुँवरको सुझाव छ ।
कृषि अनुदानका नाममा दुरुपयोग भइरहेको भनाइ कुँवरको छ । निर्माण व्यवसायीको लामो अनुभव सँगाल्नुभएका कुँवर नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल किसान महासङ्घको जिल्ला अध्यक्ष भएपछि कृषिमा धेरै काम गर्न सकिने सम्भवना देखेको बताए । कुँवर २०७९ सालको स्थानीय तहको निर्वाचनमा साँफेबगर नगरपालिका–८ बाट वडा सदस्य हुँदै जिल्ला समन्वय समितिको नेतृत्वमा पुगेका हुन् । उनी कृषकका साथै समाजसेवी पनि हुन् ।
















