अछाम- अछामको तुर्माखाँद गाउँपालिका–४ की धना बुढा ४२ वर्षकी भइन् । १५ वर्षको उमेरमा बिहे हुँदा उनी महिनावारी हुन थालेको दुई वर्ष पुगेको थियो । महिनावारीका बेला छाउगोठमा बसेकी उनी अचेल घरसँगैको बेग्लै कोठामा बस्ने गरे पनि अन्य दैनिकी भने नफेरिएको बताउँछिन् । यो अवधिमा उनलाई घरभित्र जान नपाइने भएकाले बाहिरको कामको भार पर्ने गर्छ ।
अरु बेलाभन्दा भारी बढी बोक्नु पर्ने, काम बढी गर्नु पर्ने उनले बताइन् । ‘अरुबेला घरभित्रको काम खाना पकाउने, लुगा धुने, छोराछोरीको हेरचाह गर्नेजस्ता काम धेरै हुन्छ,’ उनले भनिन्, ‘महिनावारीका बेला घरमा कम, जंगलमा बढी भइन्छ । बिहानैबाट घाँस–दाउराको भारी बोक्ने काम सुरु हुन्छ ।’ गाउँका सबै महिलाको यस्तै दैनिकी रहेको उनले सुनाइन् ।
महिनावारीको समयमा कमजोर हुने, रगत धेरै बग्ने समस्या भए पनि घरमा सुनाउन नसकिएको उनी बताउँछिन् । ‘महिनावारी भएका बेला एकछिन पनि बस्न पाइँदैन । मेलापातमै बढी व्यस्त हुनुपर्छ । आराम भन्ने त हाम्रा लागि के हो, के हो ?’ मंगलसेन नगरपालिका–५ की ३५ वर्षीया चन्द्रा भाटको दैनिकी पनि उस्तै छ । अरु बेलाभन्दा महिनावारीको समयमा गह्रौं भारी बोक्नेदेखि कठिन काम पनि गर्नुपर्ने उनले सुनाएन् ।
‘वर्षामा गोडमेल, रोपाईं गर्नेदेखि हिउँदमा जंगलबाट दाउरा ल्याएर वर्षाका लागि थुपार्ने काम पर सरेको बेला गर्नुपर्छ,’ उनले भनिन्, ‘अरु केही काम भएन भने पनि बाँझो जग्गा खन्ने काम पनि यसै बेला गर्नुपर्छ ।’ महिनावारीको समयमा पेट दुख्ने, रगत धेरै बग्ने र रिंगटा लाग्ने समस्या व्यहोरिरहने उनी शरीरले आराम खोजे पनि बाध्यतावश काममै जोतिनुपर्ने बताउँछिन् ।













