बाजुरा- असोज १६ गते बझाङको तलकोट केन्द्रविन्दु भएर गएको भूकम्पले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा ११३ घरहरू पूर्ण क्षति भए। पूर्ण क्षति भएकामध्ये २५ परिवारका लागि जिल्ला रेडक्रस सोसाइटी बाजुराले अस्थायी टहरा निर्माण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ।
अन्तर्राष्ट्रिय रेडक्रस महासंघको आर्थिक सहयोगमा बाजुरा जिल्लाभरी १२५ भूकम्पपीडित परिवारका लागि अस्थायी टहरा निर्माण गर्नुका साथै तत्काल लत्ताकपडा र खाद्यान्न खरिदका लागि रू १५ हजार सहयोग गरेको जिल्ला रेडक्रसका सभापति मेखराज जैसीले बताए। सोहीअन्तर्गत त्रिवेणी नगरपालिकाका भूकम्पपीडितहरूले अस्थायी टहराहरू धमाधम निर्माण गरिरहेका छन्। एक हप्ताभित्र टहरा निर्माण गरिसक्ने जैसीले बताए।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका कार्यक्रम जिल्ला संयोजक खेमप्रसाद भट्टराईले बाजुरा जिल्लाभरीमा १२५ भूकम्पपीडितहरूका लागि तत्काल अस्थायी टहरा निर्माण गर्न प्रतिपरिवार ५० हजार, शौचालय निर्माण गर्न १५ हजार तथा सरसफाइलाई पानी ट्यांकी खरिद गर्न ६ हजार ५ सय नगद सहयोग गरेको बताए। उनका अनुसार भूकम्पपीडितहरूले दुई महिनाभित्र अस्थायी टहरा निर्माण गरिसक्नुपर्ने छ।
त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले नगरपालिकाका ११३ मध्ये जिल्ला रेडक्रस सोसाइटीले २५ घरहरूको अस्थायी टहरा निर्माण गर्ने जिम्म लिएको र अन्य ८८ परिवारका अस्थायी घर पुननिर्माण प्राधिकरणले बनाइरहेको बताए। एक महिनाभित्र यी अस्थायी टहरा निर्माण सकिने मेयर थापाको भनाइ छ।













