धनगढी- पश्चिम नेपालका तराइँका थारु वस्तीहरुमा ‘माघ’ अथवा ‘माघी पर्व’ को रौनक छाएको छ । तरपछिल्ला वर्षहरुमा पहिलोको भन्दा फरक शैलीको रौनक छ । केही वर्ष पहिलेसम्म माघ महिना नजिकिदै गर्दा गाउँ गाउँमा थरिथरिका तालमा मादल बजेको र गीत गाएको सुनिन्थ्यो । माघी मनाउन विभिन्न खानपिनका लागि जोहो गर्ने गरिन्थ्यो ।
तर पछिल्ला वर्षहरुमा माघी मनाउन मेला महोत्सव आयोजना गर्ने तयारी र ति मेला महोत्सवमा नृत्य प्रदर्शनीको रिहल्सल गर्ने तयारी भइरहेका छन् । समय र प्रविधिको परिवर्तनसंगै माघी बनाउने रिवाज नै परिवर्तन भएको अनुभूति हुन्छ । यसवर्ष पनि माघी मनाउन गाउँ गाउँमा मासुका लागि बंगुरको खोजी र ढिक्री बनाउन मिलमा गई चामल पिसाउन थालेका छन् भने मकर स्नानस्थल र मठमन्दिरहरुमा मेला महोत्सव आयोजना गर्ने तयारी शुरु भएको छ ।
कैलालीको टीकापुर र सुख्खडमा माघीकै अवसर पारेर महोत्सव आयोजना हुँदैछ । टीकापुर उद्योग वाणिज्य संघले पुस २७ गतेदेखि र सुख्खडमा पुस २६ गतेदेखि मेला शुरु हुँदैछ । बेहडा बाबा, गोदावरी धाम, बुट्का बाबा, लगायतका ठाउँमा माघी मेला लगाउने तयारी भएको छ ।
कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लब र हिमशिखर क्लबले हसुलियाले हरेक माघ २ र ३ गते थारु सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना गर्दै आएको छ । काठमाडौंमा पनि महोत्सव आयोजक समिति गठन गरी माघ १ र २ गते माघी महोत्सव आयोजना हुँदै आएको छ । पछिल्लो समयमा जिल्ला जिल्लामा माघी महोत्सव आयोजना गर्ने लहर चलेको सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ ।
पुस्तान्तरण हुँदै जाँदा थारु समुदायमा नयाँ वर्षको रुपमा मनाइने माघी पर्व मनाउने तरिका पनि फेरिदै गएको हो । समयको परिवर्तनसंगै माघी मनाउने तरिका फेरिएपनि आफ्नो परम्परा र संस्कृतिलाई बिर्सिन नहुने थारु अगुवाहरुको भनाई छ । थारु कल्याणकारिणी सभाका पूर्व सभापति माधव चौधरीले माघी मनाउने तरिका परिवर्तन भएपनि माघीको महत्व झन प्रगाढ हुँदै गएको बताए । उनले माघीमा स्थान गरी ढिलाबाट आशिर्वाद लिने र गाउँभरीमा किसान जम्मा भएर गाउँ विकासको सरसल्लाह गर्ने परम्परा अझै परिकृत हुँदै गएको बताए ।
घरघरमा गई मान्यजनको आशीर्वाद लिएर मनाइने माघमा थारु समुदायले सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन र विकासका लागि माघी मेला, माघी महोत्सव र माघी मिलन सहमारोह आयोजना गर्न थालेको देखिन्छ । यसवर्ष आयोजना गरिने माघी मेला तथा महोत्सवलाई भ्रमण वर्षसंग पनि जोडिएका छन् । बंगरा गाउँका पूर्व भल्मन्सा ओमप्रकाश चौधरीले माघी मेलाले आफ्नो ठाउँका कृषिलाई प्रबद्र्धन गर्नुका साथै सांस्कृति पर्यटनमा समेत सघाउ पु¥याइरहेको बताउँछन् ।
नयाँ वर्ष र योजना तर्जुमा पर्वको रुपमा मनाइन्छ माघी
गाउँ–गाउँमा पुसको अन्तिम दिन सुंगुर काटेपछि थारु समुदायमा माघी शुरु औपचारिक रुपमा शुरु हुन्छ । थारु समुदायले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामका साथ मनाइरहेका छन् । पछिल्लो समयमा माघी सम्पूर्ण नेपालीहरुको चाड भएको छ तर थारु समुदायमा माघी विशेष पर्वको रुपमा मनाइन्छ । माघ महिना लागेसंगै थारु संवत २६४७ अर्थात् थारु समुदायको नयाँ आर्र्थिक वर्ष शुरु हुनेछ ।
पुस मसान्तमा बंगुरको मासु खाने र रातभर जाग्राम बसी धमार गाउने तथा माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा सःशुल्क नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने चलन थारु समुदायमा रहीआएको छ । यत्ति गरिसकेपछि मान्यजनहरुसंग आशिर्वाद थाप्दै ढिक्री, बंगुरको मासु, तरुल लगायतका परिकार खाँदै माघ मनाइने गरेको थारु समुदायका जानकारहरु बताउँछन् ।
बिहानै नुहाएर आइसकेपछि उनीहरुको सम्मान स्वरुप डेउराहार (देउताको थान भएको घरको सबभन्दा उत्तरपूर्वको कोठा) मा चामल, दाल, तेल, नुन, खुर्सानी, हल्दी आदि अन्नहरु राखिएको हुन्छ । त्यसलाई सबै भन्दा पहिले ३÷३ वा ५÷५ अञ्जुली सबै वस्तु अलग अगल छुट्याउने गरिन्छ । यसरी छुट्याएको भागलाई हामीले निस्राउ भन्छौं । त्यो भाग सके त्यही दिन नसके अन्य कुनै दिन हाम्रा विवाहित छोरीलाई उनकै घर गएर दिन्छौं । यसले हाम्रो छोरी र माइतीबीच सद्भाव कायम हुन्छ ।
थारु समुदायले माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै विताउने गरेको छ । दिउँसभरि आर्शिवाद थाप्ने र मिठो मसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने गरिन्छ । माघ महिनासंगै नयाँ आर्थिक वर्ष शुरु भएकाले थारु समुदायले माघ २ गतेदेखि अघिल्लो वर्षको समिक्षासंगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकी÷चौकीदार) को जिम्मेवारी हेरफेरमा जुट्ने गरेको छ ।
माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तर जिम्मेवादी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ । पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्दतिद्वारा अनुमोदन गर्ने चलन समेत थारु समुदायमा रहीआएको छ । गाउँमा नयाँ वर्षभरिका लागि नयाँ नियम बनाउने गरिएको थारु कल्याणकारिणी सभाका पूर्व चौधरीले बताए ।
थारुहरुको घरभित्र भने छोराछोरीको विहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको छ । भाइभाइ घर फुट्ने चलन नराम्रो रहेकाले त्यसलाई न्युनिकरण गर्नुपर्ने जागरण आएपछि थारु समुदायमा यि विषयमा छलफल हुन छाडेको बताउँछन्, थारु नेता ठाकुर करियाप्रधान ।
थारु समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म यि सबै काम गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरु काममा फर्किने गरेका छन् । काम गर्दै जाँदा माघीमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसंग बाझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाई छलफल गर्ने र संशोधन गर्ने चलन थारु समुदायमा छ ।
संस्कृतिको प्रतिकको रुपमा माघी
थारु समुदायको व्यक्ति मात्रै होइन, माघीको बारेमा जान्ने जो कोहीको मुखबाट सुन्न सकिन्छ, ‘सखिय हो, माघ क गुरीगुरी जाँर… ।’
माघमा गाइने यो गीत चर्चित भएपनि माघी थारु समुदायको सांस्कृतिक रुपमा पनि सुन्दर पर्व रुपमा रहेको छ ।
पुस मसान्तीको राति हामीहरुले रातभरि जाग्राम बसी धमार गाइन्छ । दाङ्गमा यसलाई धुमरु भन्छन्, कही कही डफको गीत भन्ने गरिन्छ । यो एउटा गीत हो । यसको विभिन्न लय हुनुका साथै विषय पनि भिन्नाभिन्नै हुन्छ । श्रृंगार, करुणा, समाजवाद, राष्ट्रवाद, अधिकारवाद आदि थुप्रै मुद्दाका धमार गीत भेटिन्छन् ।
जिया जिनि मा¥यो, मोहमति लायो, मासु बिना राजा घर जिनि आयो ।
तन त्रसत मन मोर, पिया जिनि जायो विदेश, घर बिलन परजाई ।।
यसको अर्थ हुन्छ : आशा नमार्नु, मायामोह लगाइराख्नु, पर्वको बेला मिठो मसिनो घरमा लिएर आउनु । तन मन त्रसिन्छ । मेरा प्रियपति विदेश नजानु । घर लथालिंग हुन्छ ।
यस्ता, थुप्रै धमारहरु डफ (डम्फु) र मादल बजाउँदै यो गीत गाइन्छ । क्याम्प फायर गरेर वरपर गाउँका इच्छुक सबैले बसेर भाले नबासुन्जेल गाइन्छ । भाले बासेपछि नुहाउनतिर लागिन्छ ।
त्यही डम्फुसहित धमार गाउँदै नुहाउने ठाउँसम्म पुगिन्छ र नुहाइसकेपछि पिठाको सेतो टीका ग्रहण गरी आ–आफ्नो घरतिर लाग्ने चलन छ । संक्रान्तिकै दिनदेखि मघौटा नाच, छोंक्रा नाच, झुम्रा नाच हुन्छन् गाउँ गाउँमा । त्यसमा पनि विभिन्न लय र संगीत हुन्छन् ।
सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्नका लागि थारु समुदायको ‘माघ’ संस्कृतिको प्रचार प्रसार गर्न आवश्यक रहेको जाइँका पूर्वभल्मन्सा कुलविर चौधरी बताउँछन् । उनले माघमै सांस्कृतिक आयामहरुले संस्कृतिमा रमाउन चाहने पर्यटकलाई भरपूर्ण मनोरञ्जन दिन सक्ने बताए ।
मादल, दफ बजाएर नाचगान गर्ने परम्परा विस्तार डिजे बजाएर नाच्ने तर्फ लम्किएको छ । तर पछिल्लो समयमा संस्कृति जोगाउनु पर्छ भन्ने युवामा चेतना बढेकाले केही गाउँहरुमा मादलको तालमा नाचगान गर्ने तालीम नै चल्न थालेको छ ।













