धनगढी- पुसको ४ र ११ गते भारतको राजधानी नयाँ दिल्लीसहित चेन्नई, बेंगलोर र हैदराबादबाट आएका नेपालीहरूमा कोरोना पोजेटिभ देखिएको थियो । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बिरामीहरू बढ्न थालेका छन् ।
सीमा नाकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा, कैलालीको त्रिनगर नाकामा मात्रै पुसयता ९ जनामा कोरोना पुष्टि भएको सीमा नाकामा रहेको हेल्थ डेस्कले जनाएको छ । झन्डै ७ सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले भारतमा भेटिएको जेएन.१ नामको भेरियन्ट त्यति खतरनाक नरहेको बताए । ‘खतरनाक त त्यति छैन, तर हामीले सजगता भने अपनाउनुपर्छ । हामीले सबै सीमा नाकामा एन्टिजेन परीक्षणको निर्देशन दिएका छौं’, डा. जोशीले भने ।
सीमा नाकामा पोजेटिभ देखिएकाहरू सबैलाई घर पठाइएको छ । लक्षण देखिएका बिरामीहरूलाई घरमै आइसोलेसनमा बस्न भनिएको छ । तर, घर जानेहरूले लापरबाही गरे गाउँघरमा पनि कोरोनाका बिरामी बढ्ने जोखिम भने कायमै रहेको उनले बताए ।













