धनगढी- धनगढीका सामुदायिक स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । सामुदायिक स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न हिजो मंगलबार काठमाडौँ विश्वविद्यालय र धनगढी उपमहानगरपालिकाबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको छ । आवश्यकता पहिचानको आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरि लागु गरिने काठमाडौं विश्वविद्यालयले जनाएको छ ।
कार्यक्रमलाई पहिलो वर्षमा पाँच वटा विद्यालयहरू छनौट गरि कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उपमहानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सहमतिमा उल्लेख छ ।
काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपीइसी युनिट मार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ । कार्यक्रमको सुरुवातमा सिपीइसी युनिटले धनगढी उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरूमा अध्ययन गरि आवश्यकता पहिचान गर्ने छ ।
उक्त सम्झौता पत्रमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डीन प्रा।डा।बालचन्द्र लुइटेल र धनगढी उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख गोपाल हमालले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा। डा। भोला थापा, स्कुल अफ आर्टस्का डीन इकुमाया पुन लगायत स्कुल अफ एजुकेशनका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।













