बझाङ- सदरमुकामको मध्य भागमा आगलागी भएको घटनामा नगरपालिकाले लापर्बाही गरेको भन्दै बझाङ सदरमुकाम चैनपुरका व्यापारीले बजार बन्द गरेका छन् । जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट एक करोड बढीको क्षति भएको र विपद् प्रतिकार्यमा नगरपालिकाले बेवास्ता गर्दा अरु व्यापारी पनि असुरक्षित भएको भन्दै आक्रोशित व्यापारीले बजार बन्द गराएका हुन् ।
आइतबार दिउँसो सदरमुकाम चैनपुरको मुख्य चोकमा रहेको ३२ वर्ष पुरानो एउटा कपडा पसलमा आगो लाग्दा एक करोड भन्दा बढीको धनमाल जलेर नष्ट भएको थियो । सदरमुकाम चैनपुरको मुख्य चोकमा आगलागी भएको करिब आधा घण्टा पछि मात्रै आधा ट्यांकी पानी भरिएको जयपृथ्वी नगरपालिकाको दमकल आगो निभाउन आइपुगेको थियो ।
दमकलमा भएको पानीले आगो नियन्त्रणमा नआए पछि पुनः दमकल पानी भर्नका लागि नजिकैको सेती नदी र बाहुलीगाड खोलामा गएको तर पानी भर्न नसके पछि सदरमुकाम चैनपुरबाट १३ किलोमिटर टाढा छबिसपाथीभेरा गाउँपालिकाको जालेबगर नजिक सेतीबाट पानी भरेर फर्किँदासम्म एक घण्टा भन्दा बढी समय लागेको थियो । यतिन्जेल पसल आगोले खरानी भइसकेको थियो ।
दमकलमा पुनः पानी भर्नका लागि नजिकै पहुँच मार्ग नबनाउनु आफूहरूको कमजोरी रहेको र यो घटनाबाट पाठ सिक्दै आगामी दिनमा यसो हुन नदिने जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले प्रतिबद्धता जनाएका छन् ।
यता उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले नगरपालिकाले विपद् सम्बन्धी चुस्त तयारी नगरेका कारण आफूहरूको व्यवसाय पनि जोखिममा रहेको भन्दै आक्रोशित व्यापारीले बजार बन्द गराएको बताए । उनले नगरपालिकालाई विपद् प्रतिकार्यका लागि प्रभावकारी व्यवस्थापन गर्न ज्ञापन पत्र दिने तयारी भइरहेको बताए ।













