धनगढी- सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिइएको छ । सुदूरपश्चिम प्रदेशसभाको सातौँ प्रदेशसभा दिवस २०८० का अवसरमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता एवं पुर्बमन्त्री दीर्घ सोडारीले सङ्घीयतालाई बलियो बनाउन प्रदेशसभा सदस्यहरूको भूमिका महत्त्वपूर्ण भएको बताए ।
उनले सुदूरपश्चिमको विकासमा केन्द्रित हुनका लागि प्रदेशसभा सदस्य गम्भीर भएर लाग्न पर्ने अवस्था रहेको बताए । कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले प्रदेशलाई मजबुत बनाउनका लागि प्रदेश सरकार तयार रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि आवश्यक सरसल्लाह अनुसार अघि बढ्ने बताए ।
पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले गएको सरकारले थुप्रै कानुन निर्माण गरेको बताउँदै सोही अनुसार काम गर्न आग्रह गरे । उनले विगतको सरकारले थुप्रै काम गरेको उल्लेख गर्दै वर्तमान सरकारलाई आवश्यक बिजनेस दिन आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका संसदीय दलका नेता नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले प्रदेश सरकार जनभावना अनुसार चल्न नसकेको आरोप लगाए । उनले सबैको भावना अनुसार सरकार चल्नुपर्ने बताए ।













