कञ्चनपुर- कञ्चनपुरस्थित सीमावर्ती बजारमा भारतीय एसएसबीद्धारा नेपाली महिलामाथि कुटपिट भएको छ । कञ्चनपुरको बेलौरीस्थित सीमावर्ती बजारमा भारतीय सीमा सुरक्षा बल९एसएसबी० द्वारा नेपाली क्यारिङकर्ता महिलालाई कुटिएको बताइएको छ।
भारतीय बजार खजुरियाबाट सामान ल्याउने क्रममा पिल्लर नम्बर ८ र ७ को बिचमा बेलौरी नगरपालिका-६ की महिला कुटिएको घटना बाहिरिएको हो।
माघ २० गते शनिवार बिहान खजुरियाबाट फर्किने क्रममा बेलौरी नगरपालिका-६ रिछाहाकी शान्ति राना (जानु) माथि एसएसबीले कुटपिट गरेको स्थानीय व्यवसायीले बताएका छन। गालीगलौज गर्दै एसएसबीले उनीमाथि नीलडाम बस्ने गरी निर्घात कुटपिट गरेका थिए । रानाको पिठ्यूँ, कम्मर र खुट्टामा निल डाम बसेको छ।
उनीसँगै रहेका अन्य १४ जना महिला क्यारिङकर्ता माथि पनि एसएसबीले दुर्व्यवहार गर्दै समान जफत गरेको व्यवसायीको भनाइ छ । कुटपिट पछि घटना दुई देशका व्यापारी र सुरक्षा निकायका प्रतिनिधि बसेर थामथुम पारिएको छ ।
घटना पछि उद्योग वाणिज्य संघ बेलौरी, खजुरीया व्यापार मण्डली र दुई देशका सुरक्षा निकायका प्रतिनिधि बसेर कुटपिट गर्नेलाई विभागीय कारवाही गरेर उपचारका लागि क्षतिपूर्ति दिने गरी घटना मिलाइएको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टले बताए ।













