काठमाडौं- चार कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोर्चाको संयोजक परिवर्तन भएको छ । आज बसेको मोर्चाको बैठकले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई संयोजक बनाएको हो ।
यसअघिका संयोजक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए । मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने बताए । गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन–तीन महिनामा चक्रिय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो ।













