धनगढी- कैलालीमा लागू औषधसहित तीन युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट ९५० मिलिग्राम लागू औषध (खैरो हेरोइन) सहित अछाम साँफेबगर नगरपालिका-४ बस्ने ३० वर्षीय सन्तोष सुनारलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। सुनारलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा लागू औषधसहित पक्राउ गरेको हो।
यस्तै कैलालीको गोदावरी नगरपालिका-१ भरतपुर स्थित राम जानकी मन्दिर नजिकबाट २८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ वस्र्ने २६ वर्षीय माधव बिष्टलाई पनि बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। बिष्टलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित पक्राउ गरेको हो।
उता टीकापुर नगरपालिका-३ रामपुरबाट १०० मिलिग्राम खैरो हेरोइनसहित जानकी गाउँपालिका-७ बस्ने २६ वर्षीय राजकुमार चौधरी पनि बुधवार साँझ पक्राउ परेका छन्। चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।















