धनगढी- शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाउनका लागि कार्यशाला गोष्ठी गरेको छ । शनिबार लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टले धनगढीमा कार्यशाला गोष्ठी गरेको हो ।
कलेजका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेलका अनुसार शिक्षक तथा विद्यार्थीमा देखिने तनाव, अध्ययन अध्यापनको चुनौति कम गराउन शिक्षकबीच शिक्षण सिकाइ कार्यक्रम आयोजना गरिएको बताए । गोष्ठीमा प्रशिक्षकसमेत रहेका प्रिन्सिपल पौडेलले शिक्षण क्षेत्रमा देखिएको चुनौति र निराशालाई न्यूनीकरण गर्दै शिक्षकले अध्ययनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
शिक्षक र विद्यार्थीबीच सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक र अभ्यासात्मक शिक्षण आवश्यक हुनु पर्ने बताउँदै उनले विद्यार्थीसँगै अध्यापन गराउने शिक्षकमा समेत संवेदनात्मक चेतको ज्ञान बताए । उनले भने, ‘शिक्षक पेशा पहो, यही पेशालाई मर्यादित बनाउन शिक्षक आफैपनि तनाव मुक्त हुनुपर्छ । कक्षामा शिक्षक तनावमा हुने र विद्यार्थीमा समेत विभिन्न तनाव रहने गरेको पाइएकोले सकारात्मक सिकाई जरुरी रहेको बताए ।

लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टलकी डा.स्मृतिकला पन्तले शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षक स्वयं जिम्मेवार हुनुपर्ने बताइन् । उनले वर्तमान युग सुहाउँदो शिक्षाको लागि शिक्षक अध्ययनशील हुनुपर्ने बताइन् । छलफल कार्यक्रममा विद्यार्थीलाई सृजनात्मक अभ्यास हुनुपर्ने र शिक्षकले अध्ययन गर्न आवश्यक रहेको जनाइएको छ । कार्यक्रममा कृष्ण अवस्थीले शिक्षण पेशामा देखिएको समस्या र चुनौति निराकरणका लागि छलफल प्रभावकारी भएको हुनुपर्नेमा जोड दिए ।कार्यक्रममा धनगढी,अत्तरियालगायतका दुई दर्जनबढी माध्यमिक तथा क्याम्पसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।













