धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीलाई उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् ।
यस्तै, एमालेका वीरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरुको नाम सिफारिस गरेको जनाइएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ आज साँझ ५ बजे तय गरिएको छ । सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।















