धनगढी- कैलालीको मोहन्याल गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहका लागि घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले शुक्रबारबाट सार्वजनिक सेवा प्रवाहका लागि घुम्ती शिविर सञ्चालन गरेको हो ।
वर्षातका कारणले गाउँपालिकाबाट सेवा लिने सेवाग्राहीलाई भएको असहजतालाई मध्यनजर गर्दै गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सार्वजनिक सेवा घुम्ती शिविरमार्फत प्रदान गर्न शुक्रबारबाट शिविर सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दले जानकारी दिए ।
पालिकाले वडा नं. ३ को कार्यालय रहेको फलेबिसौनाबाट घुम्ती शिविरको माध्यमबाट सेवा प्रदान सुरु गरेको उनले बताए । ‘अहिले वर्षातका कारण गाउँपालिकासम्म पुग्ने सडक मार्ग पनि सहज छैन्,बर्षातकै कारण पालिकाको केन्द्र रहेको ठाउँमा अहिले बत्ती र इन्टरनेटको सुविधा छैन्’, उनले भने ‘त्यसैलाई मध्यनजर गरेर घुम्ती शिविरमार्फत सेवा प्रवाह सुरु गरेका हौँ ।’
‘योजनाको भुक्तानीको समय पनि छ,अब थोरै दिन मात्रै बाँकी छ । जनाताका अन्य सुविधा, बाटोघाटोको पहुँचको हिसावले पनि पालिका केन्द्र रहेको ठाउँमा सेवाग्राहीलाई पुग्न सहज छैन्’, उनले भने, ‘यहाँ (फलेबिसौना)मा इन्टरनेट,बत्तीलगायतको सुविधा पनि भएको र सडकको पहँुच पनि छ । त्यसैले यहाँबाट सेवा प्रवाह सुरु गरेका हौँ ।’ शिविर यही असार २५ गतेसम्म सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत चन्दको भनाइ छ ।
सेवाग्राहीलाई वर्षाको समयमा केही सहज होस् भन्ने उदेश्यले सार्वजनिक सेवा प्रवाहका लागि शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताए । ‘वर्षातले पालिका केन्द्र पुग्ने सडक बन्द हुने अवस्थामा छ । शिविर सुरु गरिएको ठाउँ पनि धेरै पायक पर्ने ठाउँ त हैन । अन्य ठाउँ भन्दा सेवाग्राहीलाई अलि सहज हुने भएकाले यहाँ शिविर सञ्चालन गरेका हौँ’, उनले भने ‘यही असार २५ गतेसम्म यहीबाट सेवा दिन्छौँ । पछिल्ला दिनमा आवश्यकताको आधारमा शिविर अन्य ठाउँमा पनि सञ्चालन गर्छौँ ।’ हाल मोहन्याल गाउँपालिकाको केन्द्र वडा नं. ४ खिमडीमा रहेको छ ।













