काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैठौं पटक प्रधानमन्त्री बन्ने परिदृष्य देखापरेको बताएका छन् । शनिबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘शेरबहादुरजी प्रधानमन्त्री पटक–पटक हुनुभयो । म सात पटक प्रधानमन्त्री हुन्छु भन्नुभएको छ । छ पटक हुने त अगाडि परिदृष्य देखिइसक्यो,’– उनले भने । साथै, नेता रावलले ९४ करोड सहकारीको रकम ठगीको आरोप लागेको रवि लामिछानेलाई देशको गृहमन्त्री बनाइएको भन्दै उनले आपत्ति जनाए । उनले यसको जवाफ राजनेता भनिएकाहरुले दिनुपर्ने बताए । गृहमन्त्री रवि लामिछानेको नाममा कतै उजुरी परेको फेला परेन भनेर महान्यायाधिवक्ताको कार्यालयले चिठी लेखेको उनले बताए ।
दुईवटा नागरिकता, दुईवटा राहदानी र ठगी आरोप रहेका लामिछानेलाई गृहमन्त्री बनाउने नेताहरु उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।













