धनगढी- मुक्तकमैया महिला विकास मञ्चले विभिन्न जातका फलफूलका विरुवा वितरण गरेको छ । मञ्चले मंगलबार कैलाली र कञ्चनपुरका दुई पालिकामा फलफूलका बिरुवा वितरण गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–३ का ३४ र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ६५ गरी ९९ मुक्तकमैया, कम्लहरी तथा अन्य सीमान्तकृत समुदायका परिवारलाई प्रतिपरिवार तीनवटा आपँ र एउटा लिचीको वितरण गरिएको मञ्चका परियोजना संयोजक ईन्द्र चौधरीले जानकारी दिए ।
एफसिए नेपालको आर्थिक सहयोगमा कैलाली र कञ्चनपुरमा सञ्चालित सहकार्य परियोजना अन्तर्गत वातावरण परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र मुक्तकमैया, कम्लहरी तथा अन्य सीमान्तकृत समुदायका परिवारहरुमा खाद्य सुरक्षा तथा पोषण आपुर्ति तथा सचेत गर्ने उद्देश्यले फलफूलका बिरुवा वितरण गरिएको उनले बताए ।













