डडेलधुरा- डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ ।
शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पत्रकार सम्मेलनमार्फत आइतबार सार्वजनिक गरिएको हो ।
अमरगढी नगरपालिका–७ की बालिका भट्टराईको हत्या गरिएको थियो । डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन् ।
“घटना निज टेकबहादुर भण्डारीको स्टेसनरी पसल नै हो”, डिएसपी श्रेष्ठले भने , “पसलभित्र कोठामा आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन् ।” स्थानीयले भने बलात्कारपछि हत्या भएको दाबी गर्दै कडा कारबाहीको माग गरेका छन् ।
बालिकाको शवको प्रतिवेदन आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने प्रहरीले जनाएको छ । “जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्ने हाम्रो अनुमान छ । तर यकिन जानकारी अहिले नै प्राप्त भइसकेको छैन”, उनले भने ।
किशोरी भट्टराई असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै मिल गएकी थिइन् । पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको जनाइएको छ ।रासस













