काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापनापछि मुलुकमा कुनै उपलब्धि नभएको भन्ने भाष्य तथ्य र इतिहाससँग मेल नखाने बताएका छन्।
शनिबार काभ्रे जिल्ला एकता बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया, संविधान निर्माणदेखि विकास निर्माणसम्म भएका उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताए।
गणतन्त्रपछि भएका उपलब्धि र कमजोरी दुवैलाई तथ्यका आधारमा जनतासामु प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो। आफ्नो नेतृत्वमा सरकारमा रहँदा शान्ति प्रक्रियालाई संस्थागत गर्ने, गणतन्त्र कार्यान्वयन गर्ने तथा संविधान निर्माणको आधार तयार गर्ने काम भएको उनले दाबी गरे।
देशलाई सङ्कटतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै प्रचण्डले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा राजनीतिक शक्तिहरूबीच सहकार्य र कम्युनिस्ट शक्तिबीच एकता आवश्यक रहेको बताए।
उनले महँगी, बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव तथा गरिब, सुकुमबासी र मजदुरका समस्यालाई केन्द्रमा राखेर जनताका मुद्दा उठाउनुपर्नेमा समेत जोड दिए।













