धनगढी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा पूर्व-पश्चिम राजमार्गमा नेपालगञ्जबाट काठमाडौं जादै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस दुर्घटनामा परेको हो ।
बसमा चालकसहित १८ जना सवार रहेकामा दुर्घटनामा ६ जनाको मृत्यु भएको,१० जना घाइते भएका र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरी नगरपालिका-३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको र अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा गोरखाको गोरखा नगरपालिका-९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन नगरपालिका-६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी,बर्दिया ठाकुरबाबा नगरपालिका-१ की २० वर्षीया आकृती,बाजुराको स्वामीकार्तिक गाउँपालिका-५ का ३२ वर्षीय पवन बुढा,बर्दियाको राजापुर नगरपालिका-९ का २८ वर्षीय सञ्जय थारु रहेका छन् ।
त्यस्तै,बाजुराको स्वामीकार्तिक गाउँपालिका-१ का २५ वर्षीय प्रेम बम, ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-५ का २९ वर्षीय अनोज खत्री, बर्दियाको बाँसगढी नगरपालिका-७ का ३६ वर्षीय लालबहादुर कार्की,बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१ का २१ वर्षीय अनिल बुढाथोकी घाइते भएका छन् ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमनसिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पतालमा पुर्याएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













