धनगढी- नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगर कमिटीले धनगढी–९,स्थित त्रिवेणी आर्यघाटमा सरसफाई गरेको छ । आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा आर्यघाट सरसफाई गरेको हो ।
सरसफाइ कार्यक्रममा सहभागी माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले कर्माचार्य एक सादगी नेता भएको र मजदुर आन्दोलनमा सक्रिय भएर लागेका नेता भएको बताए । उनले कर्माचायले पार्टी टुटफुट र विभाजनपश्चात विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन निरन्तर पहलमा लागेको बताए ।

उनले धनगढीको नगर कमिटीले कर्माचार्यको जन्मशताब्दीको अवसरमा आर्यघाट सरसफाइ कार्यक्रम गरेर एउटा सचनात्मक काम गरेको समेत बताए । उनले भने ‘हामीले यस्ता कामलाई निरन्तरता दिनुपर्छ । यसले श्रम संस्कृतिको पनि विकास गर्छ ।’ नेता पुनले अस्पताल लगायतका सार्वजनिक स्थलमा सरसफाई कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने समेत बताए ।

त्यस्तै,सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य रमेशसिंह धामीले आगामी दिनमा निर्वाचन क्षेत्रभित्र रहेका विद्यालय,स्वास्थ्य संस्था लगायतका क्षेत्रमा सरसफाई कार्यक्रम गरिने बताए ।
सरसफाई कार्यक्रममा माओवादी केन्द्रका नगर अध्यक्ष डवलबहादुर खाती ऐरलगायतका करिब ५० जना नेता कार्यकर्ताको सहभागिता रहेको थियो । सरसफाई सुभारम्भ गर्नु अघि कर्माचार्यको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो ।
विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य सदस्य थिए ।














