धनगढी । कैलालीमा गाँजा सेवन गरिरहेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ जानकी गाउँपालिका-७ मोतिनगरमा सडक छेउमा भत्केको पुरानो घरको कोठाभित्र सामूहिक रुपमा लागुऔषध गाँजा सेवन गरिरहेको अवस्थामा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले जानकी-७ बस्ने २२ वर्षका विक्रम विश्वकर्मा, १९ वर्षका प्रविन सिंह, २१ वर्षका वीरेन्द्र विक, २१ वर्षका रिजन विश्वकर्मा, २२ वर्षका राहुल विक, बर्दगोरिया गाउँपालिका-४ बौनिया बस्ने १९ वर्षका हेमन्त तिरुवा, २६ वर्षका तेजश विश्वकर्मा र २५ वर्षका बिर्जु विश्वकर्माको साथबाट ८० ग्राम लागुऔषध गाँजा जस्तो देखिने धुलो र पातबाट बनेको चार वटा सुल्पासहित नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।













